नेपालगंज– नेपालगञ्जमा आइतबारदेखि ऐतिहासिक रामलीलाको एकसय ५६ औँ संस्करण मञ्चन सुरु भएको छ। भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको ‘रामलीला’ प्रदर्शन गर्न थालेका हुन्।
रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय सङ्गीतमय कलाकार टोलीले रामलीला मञ्चन गर्न थालेकाे बताए।
उनका अनुसार सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ।
नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्य रातसम्म सहभागी हुने गर्छन्। धनुष यज्ञ, रावण वध, भरत मिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ।
यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको नेपालगञ्जका अगुवा नन्दलाल वैश्यले बताए। रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्छ।
नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलीलालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर पनि रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले बताए।
रामलीला शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताए।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास व्यक्त गरे।