काठमाडौं- भक्तपुर चाँगुनारायण नगरपालिका-७ खरिपाटी भद्रकालीस्थित सडकमा प्रदेश ३-००१ प.१४७७ नम्बरको मोटरसाइकल र बा.५ ख १६२५ नम्बरको मिनी टाटा एक-आपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर खरिपाटी बस्ने २४ वर्षीय संजोग गिरीको घटनास्थलमै मृत्यु भएको छ । मिनिटाटा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पूर्व) देवचुली नगरपालिका-१३ बोहुलाखोलास्थित मनकामना क्रसर उद्योगभित्र नम्बर नभएको जेसिबीको ठक्करबाट सोही क्रसर उद्योगभित्र क्यान्टिन संचालन गर्ने देवचुली नगरपालिका-१२ बस्ने ४० वर्षीया निर्मला कुमारी महतको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको देवचुली अस्पताल दलदलेमा उपचारको क्रममा मृत्यु भएको हो ।
बझाङ थलारा गाउँपालिका-३ चाखुडीधार भन्ने स्थानमा झनना बजारबाट कफलकाडा थलारातर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ५७२७ नम्बरको ट्याक्टर बिहीबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय लाल बहादुर दाहालको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
धादिङ धुनिबेशी नगरपालिका-९ बीस किलोस्थित सडकमा बा.४ ख ११६२ नम्बरको टिपर सडकबाट अन्दाजी २५ मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा टिपरका चालक सोही नगरपालिका-८ भदौरे बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका टिपरका सह-चालकको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।