काठमाडौं- मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकमा ना.६ ख ८४२५ नम्बरको बस र बागमती प्रदेश ०२-०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बकैया गाउँपालिका-७ बस्ने ३७ वर्षीय शिव प्रसाद सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखा सैलुङ गाउँपालिका-५ मातादेउराली बस्ने ४६ वर्षीय थनक प्रसाद दुलाललाई थप उपचारको लागि चुरेहील अस्पताल पठाईएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङ राईनास नगरपालिका-६ घामेको भिरस्थित सडकमा ग.१ त ४४४५ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ३० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय अमृत सिलवालको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट किस्पाङ गाउँपालिका-५ नयाँपुलस्थित सडकमा बा.३ ख ८५०० नम्बरको टिपर र बा.७१ प ४६७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-५ मानेगाउँ बस्ने ३२ वर्षीय यम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी नुवाकोट लिखु गाउँपालिका-३ डुडेस्थित सडकमा बा.१५ च ७४०७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम शरण जर्घा मगरको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर कटारी नगरपालिका-३ हडियास्थित चौरमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही नगरपालिका देबिधाप बस्ने ७० वर्षीय बिनिलाल दनुवारको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी कार्य गरिरहेको छ ।
बर्दिया बासगढी नगरपालिका-३ पूर्व-पश्चिम राजमार्गमा कालिकोटबाट महेन्द्रनगरतर्फ जादै गरेको ना.५ ख ५३८२ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट पल्टिएर बिहीबार बिहान दुर्घटना हुँदा बसमा सवार २० जना पुरुष र १० जना महिला गरी ३५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको छ । उनीहरूको स्थानीय कौशिल्या अस्पताल बासगढिमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।