काठमाडौं- कांग्रेस नेता तथा कपिलवस्तुबाट संघीय सांसद अभिषेकप्रताप शाहले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे भ्रमको पर्दा खोल्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत एमसीसीबारे आफ्नो धारणा व्यक्त गर्दै शाहले एमसीसी नेपालका लागि नितान्त अनुदान भएको र त्यसलाई ऋणका रूपमा भ्रम फिँजाइएको बताएका हुन्। चीनले आफ्नो एक्जिम बैंकमार्फत तीन प्रतिशत ब्याजदरमा ऋण दिने गरेको उल्लेख गर्दै शाहले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत दाताले एक प्रतिशतभन्दा कम ब्याजदरमा विकासशील मुलुकहरूलाई ऋण उपलब्ध गराउने गरेको सम्झाएका छन्।
‘चीनको ऋणबाट निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीन प्रतिशत ब्याजदरमा निर्माण गरिएको हो। जब कि, विश्व बैंक, एसियाली विकास बैंक तथा आईएमएफले एक प्रतिशतभन्दा कम ब्याजदरमा विकासशील देशहरूलाई ऋण उपलब्ध गराउँछन्,’ शाहले लेखेका छन्, ‘कहीं यो विमानस्थलको हालत श्रीलंकाको बन्दरगाहजस्तो नहोस्, जसलाई चिनियाँ ऋणबाट निर्माण गरिएको थियो। हामी नेपाली एमसीसीको विरोध गर्छौं। जब कि, एमसीसी नितान्त नेपालको लागि अनुदान हो, ऋण होइन। भ्रमको पर्दा खोलौँ।’