काठमाडौं– एक सातादेखि राष्ट्रिय सभागृहअगाडि उभिइरहेका अभियन्ता ईःबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे प्रतिक्रिया आएकाे छ।
उनले सामाजिक सञ्जालमार्फत उनीहरू उभिइरहेको ठाउँमै गएर वार्ताका लागि बोलाउँदा पनि ईःलगायतका अभियन्ता आउन नखाेजेकाे दाबी गरेका छन्।
बालेनले उनीहरू वार्ताका लागि बाेलाउँदा नआउने तर महानगरकाे कार्यालय अगाडि उभिइरहने भन्दै आक्राेस पाेखेका छन्। उनले उनीहरू वार्ताका लागि नआएकाे भन्दै उनले के वार्ता उनीहरूको नेतासँग गर्नुपर्ने? भनेर प्रश्न गरेका छन्।
‘बिगत केही दिन देखि केही अभियनताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन। लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ। के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने?’ बालेनले भनेका छन्।
यता सामाजिक अभियन्ता ई: ले भने मेयर शाहले वार्ताका लागि नबाेलाएकाे र आफै आएर भेटेकाे भन्ने कुरा झुटाे भएकाे बताएका छन्।
‘मेयर यहाँ आउनुभएको छैन। सँगै जवाफदेहिता माग गरिरहेका साथीहरू साक्षी छन्। करीब ३० मिनेट अगाडि अकस्मात एक नगरप्रहरीले पार्किङ लटमा बोलाए। कानून विज्ञ, शहरी विशेषज्ञ, सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए- त्यसोभए मेयरले भेट्दैन!’
बालेनले नगर प्रहरीलाई लगाएर फुटपाथका व्यापारीकाे उठिबास लगाएको तर उनीहरूकाे व्यवस्थापनमा काम नगरेकाे भन्दै ईः लगायतका अभियान्ताहरूले महानगरको कार्यालय अगाडि उभिएर प्रदर्शन गर्दै आएका छन्।