काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।
क्यानको आज भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित भएका हुन्। सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भएका छन्।
महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन् भने सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत भए।
तर क्यानको सचिव पदका लागि भने नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा भइरहेको छ। सचिवका लागि अहिले मतदान भइरहेको छ। अध्यक्ष चन्दले सचिवमा सहयाेग गर्ने आश्वासन दिएर अध्यक्षमा पारसकाे उम्मेदवारी राेकेका थिए। त्यस्तै अन्य आकांक्षीलाई पनि विभिन्न आश्वासन दिएर साइड लगाएका चन्दले सचिवमा सघाउने आश्वासन दिएका खड्कालाई भने प्रतिस्पर्धी भिडाएर हराउने दाउमा लागेकाे पारस समर्थकले आराेप लगाएका छन्।
त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक/एक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेको छ। खुलातर्फका पाँच जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ। क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्नेछन्।