काठमाडौं- नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदान प्रवेशको अनमुति दिइने भएको छ।
सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ। पहिलो खेल माघ १५ र दोस्रो माघ १८ मा हुने तय भएको छ।
एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ जनही पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट दर कायम गरेको छ। मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्ने भएका छन्। एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा छन्।
नेपाल आएपछि पीसीआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ। चारैजना हाल आइसोलेसनमा छन्। रंगशाला प्रवेशका लागि सबैलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ। खेल साँझ पौने पाँच बजेदेखि शुरु हुनेछ।