काठमाडौं– राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता मतदानस्थल र केन्द्र तोकिएका शहरमा पुगिसकेका छन्।
प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदानस्थल तोकिएको छ।
यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ।
आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो।
सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जसपा गठबन्धनका साथ चुनावी मैदानमा छन्। यस्तै, एमाले र लोसपाले मधेश प्रदेशमा गठबन्धन गरेका छन्। यसैगरी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।
निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।