काठमाडौं- धादिङ गल्छी नगरपालिका-७ भल्टारस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सिद्धलेख गाउँपालिका-६ बस्ने ४५ वर्षीय महलाल श्रेष्ठको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको अम्बे भरोसा गल्छी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
बारा आदर्श कोटवाल गाउँपालिका-३ बतरास्थित सडकमा बिहेको चार पाङ्ग्रे रथ आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा रथमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने १६ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका-७ जानकीनगर बस्ने २३ वर्षीया सैलकुमारी राम रहेका हुन् । साथै दुर्घटनामा घाइते भएका रथमा सवार १४ जनालाई उपचारको लागि कलैया पठाएकोमा ६ जनालाई थप उपचारको लागि वीरगंज न्यूरो अस्पताल रिफर गरिएको छ । हाल फरार रहेका रथ चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा गणेशमान चारनाथ नगरपालिका-६ चारनाथ पूलस्थित सडकमा ना.७ ख ७४४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवालको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।