बर्लिन- रुसी राष्ट्रपति भ्लालिमिर पुटिनको पक्षमा अभिव्यक्ति दिएका जर्मनीका नौसेना प्रमुख के-आखमी सुनबेखले पदबाट राजीनामा दिएका छन्।
भारत भ्रमणमा रहेका उनले गत शुक्रबार रुसले युक्रेनमाथि आक्रमण गर्ने कुरा वाहियात भएको बताएका थिए। र, रुसी राष्ट्रपति पुटिन सम्मानको पात्र भएको बताएका थिए। समाचार एजेन्सी एएफपीका अनुसार त्यसको केही घण्टा नबित्दै उनले पदबाट राजीनामा दिएको जर्मनीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। उनले नयाँदिल्लीमा भनेका थिए, ‘रुसी राष्ट्रपति पुटिन सम्मान चाहन्छन्। उनलाई सम्मान दिनुपर्छ, जसका लागि उनी हकदार छन्।’
क्रिमियामा रुसको कब्जा इतिहास भइसकेको उनले बताएका थिए। र, अब रुसको कब्जाबाट फिर्ता गर्न नसकिने बताएका थिए। उनको अभिव्यक्ति आएलगत्तै युक्रेनका विदेश मन्त्रीले आपत्ति जनाएका थिए। र, ‘स्पष्ट रूपमा अस्वीकार्य भएको’ बताएका थिए।
रुसको सम्भावित आक्रमणलाई मध्यनजर गर्दै कतिपय मुलुकले युक्रेनलाई हतियार दिएका छन्। अमेरिका र बेलायत युक्रेनलाई हतियार दिने मुख्य मुलुक हुन्। जर्मनीले भने हतियार दिन अस्वीकार गरेको छ। र, एक फिल्ड अस्पताल दिने प्रस्ताव गरेको छ।