जिल्ला अस्पताल हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको ७ माघ र नवजात शिशुको ५ माघमा मृत्यु भएको हो। अस्पतालका अनुसार शल्यक्रियामार्फत टीकाले शिशुलाई जन्म दिएकी थिइन्।
टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो। शल्यक्रिया गरेको दुई दिनसम्म टीकाको स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक समस्या देखिएको थियो।
जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनको सोही राति नै मृत्यु भएको अस्पतालले जनाएको छ। जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटीला माइत भएकी टीकाको एक वर्षअघि हुम्लामा विवाह भएको थियो। माइती पक्षले टीकाको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै राखिएको छ।
माइती पक्षले के–कति कारणले आफ्नो छोरीको मृत्यु भएको हो जानकारी नहुँदासम्म शव उठाउन नदिएपछि टीकाका परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए।
अस्पतालको प्रसूतिगृहमा शल्यक्रियाद्वारा बच्चा जन्माएका सुत्केरीको मृत्यु भएको यो पहिलो घटना हो। यहाँका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ। जिल्लामा स्वास्थ्यकर्मी नियमित नबस्नु, औषधि उपकरणलगायतको अभावले ज्यान गुमाउने गरेका छन्। गत ३० पुसमा पनि जिल्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका–६ की गौगरा छत्यालको सुत्केरी भएको पाँच मिनटपछि मृत्यु भएको थियो।