काठमाडौं- पर्सा, गुल्मी, महोत्तरी र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
पर्सा वीरगंज महानगरपालिका-१२ स्थित सडकमा बा.४ ख ७३९० नम्बरको बसले ना.१४ प ८१०४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका-४ बस्ने ६० वर्षीय समशुल मिँयाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रभु अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मी मुसीकोट नगरपालिका-९ ददलका बुकीडाँडामा लु.१ च ७२९८ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा गाडीमा सवार मुसीकोट नगरपालिका-९ ददलका बस्ने ५५ वर्षीय काले कामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ७ जनालाई उपचारको लागि पाल्पातर्फ पठाइएको छ ।
महोत्तरी मटिहानी नगरपालिका-६ बजार नजिक मटिहानीबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २-०२५ प ३५२१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार जलेश्वर नगरपालिका-४ सुगा बस्ने ४० वर्षीय शम्भु शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाही बाग्मती नगरपालिका-११ स्थित सडकमा बा.८४ प ५९०८ नम्बरको मोटरसाइकल ना.७ ख ८३०० नम्बरको टिपरको पछाडी ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हरीवन नगरपालिका-५ बस्ने २५ वर्षीय सुनिल बम्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल चन्द्रपुर रौतहटमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।