काठमाडौं – पर्सा वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट ४२ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट र ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ नाखसोती बस्ने २० वर्षीय लक्ष्मण घलान र सोही उपमहानगरपालिका-१३ बनस्पति बस्ने २१ वर्षीय राम सुनार रहेका छन् । भारत रक्सौलबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सप्तरी छिन्नमस्ता गाउँपालिका-१ कोशी पम्प नहरबाट नियन्त्रित लागूऔषध १ सय ९० बोतल डाइलेक्स डिसि, ९५ एम्पुल फेनारगन, ९५ एम्पुल लुपिजेसिक र ९५ एम्पुल डाइजेपाम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तिरहुत गाउँपालिका-५ बस्ने २७ वर्षीय राज कुमार महतो र सोही ठाउँ बस्ने १९ वर्षीय सिन्धु सदा रहेका छन् । स.२३ प २७७३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक महतो र मोटरसाइकलमा सवार सदालाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद कर्ता अग्निसायर कृष्णशवरण गाउँपालिका-६ बस्ने २५ वर्षीय बैजु साह समेतलाई उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाँचथर फिदिम नगरपालिका-१ डेरा गरी बस्ने ३२ वर्षीया देवी लकान्द्रीलाई ८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ र १ थान डिजिटल तराजु सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।