काठमाडौं– ठूलो परिमाणमा गुणस्तरहीन महसहित काठमाडौं ज्याठाबाट एक उद्योगका सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ घर भई ज्याठामा नतिजा प्याकेजिङ नामक उद्योग सञ्चालन गर्दै आएका ३८ वर्षीय नरबहादुर श्रेष्ठ छन्।
उनको उद्योगबाट गुणस्तरहीन तयारी मह ६०० किलो, कच्चा तथा गुणस्तरहीन मह ६५०० किलो, ग्लुकोज ५०० किलो, चिनी १०० किलो, तौलिने मेसिन एक थान, लेभल मेसिन एक थान, सिल मेसिन एक थान, पेट्राइज मेसिन एक थान, स्टोरेज मेसिन एक थान, स्पर्स हनीका लेभलहरू र पेट जार एक हजार पिस महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बरामद गरेको छ।
प्रहरीका अनुसार उनले सात वर्षदेखि श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री गर्दै आएको खुलेको छ। प्याकेजिङ कम्पनीको नाममा स्पर्स हनी नामको लेबल टाँसी बिक्री वितरण गर्ने गरेका थिए।
उनले उद्योगबाट उत्पादित नक्कली मह काठमाडौं, भक्तपुर र पोखराका होटल, रेस्टुराँहरूमा थोक र खुद्रा बिक्री गर्दै आएका थिए। मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गर्दै आएका थिए। नक्कली मह उनले प्रतिकिलो ६५० रुपैयाँमा बिक्री गर्दै आएका थिए।
त्यसका लागि स्पर्स हनी नामको ब्रान्ड दर्तासमेत गरेका थिएनन्। नक्कली मह बनाउन ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र ४० प्रतिशत रसायन प्रयोग गर्थे। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको गुणस्तर मापदण्डविपरीत उनले बजारमा अखाद्य मह पु¥याउँदै आएका थिए।