काठमाडौं- सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ स्थित कोईन्स रेष्टुरेण्टबाट ४० मिलिग्राम अवैध लागू औषध ब्राउन सुगर सहित सोही नगरपालिका-३ बस्ने १९ वर्षीया पूजा कार्की लगायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टको क्याबिनमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सिरहा सिरहा नगरपालिका-१७ माडरबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १० ट्याब्लेट सहित कल्याणपुर नगरपालिका-८ मझौलिया बस्ने ३० वर्षीय कृष्णा यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ज.१२ प ७५५७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक यादवलाई पक्राउ गरेको हो ।
कैलाली धनगढी उपमहानगरपालिका-३ त्रिभुवन टोलबाट १० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २३ वर्षीय जगतराम राना थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी प्रोष्ट चटकपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
सर्लाही मिर्चैया नगरपालिका-५ बाट ३० ग्राम ७७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा कमला नगरपालिका-६ बस्ने २१ वर्षीय सबुर कुमार महतो र सोही ठाउँ बस्ने २१ वर्षीय पवन कुमार महतो रहेका छन् । लु.७९ प ९९५१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक सबुर कुमार र मोटरसाइकलमा सवार पवन कुमारलाई पक्राउ गरेको हो ।