काठमाडौं -रुपन्देही बुटवल उपमहानगरपालिका-९ इँटाभट्टीस्थित होटल आगन्तुकमा बसेका कास्की पोखरा महानगरपालिका-१३ बस्ने २४ वर्षीय सरण गुरुङ र १९ वर्षीय युगेन गुरुङलाई नियन्त्रित लागूऔषध ५० एम्पुल डाईजेपाम, ५० एम्पुल नुफिन र ५० एम्पुल फेनारागन सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले लागूऔषध बिक्री तथा सेवन गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु यसोधरा गाउँपालिका-७ मर्यादपुर बजारबाट बाणगँगा नगरपालिका-४ गजेडा बस्ने १९ वर्षीय गोकर्ण थारुलाई नियन्त्रित लागूऔषध ४० क्याप्सुल स्पास्मो र २० क्याप्सुल नाईट्राभेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा भगवानपुर गाउँपालिका-४ स्थित सडकबाट लहान नगरपालिका-२२ बस्ने २४ वर्षीय देवकान्त मुखियालाई नियन्त्रित लागूऔषध ३३ एम्पुल फेनारगन, ३३ एम्पुल डाईजेल्याब र नाम नखुलेको ३३ एम्पुल लागूऔषध जस्तो देखिने पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका देवकान्तलाई प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा वीरगंज महानगरपालिका-१६ बसपार्कबाट काठमाडौं महानगरपालिका-६ बसुन्धरा धापासी बस्ने २० वर्षीया रेश्मा केसीलाई नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।