काठमाडौं- हिजोआज घरमै बसेर रेस्टुराँमा पाइने परिकार बनाई खाने चलन बढी छ। खासगरी, विदाको सदुपयोग गर्दै घरमै मिठा परिकार बनाएर खाने शहरी जनसंख्या बढ्दो छ।
आज हामी त्यसरी नै घरमै बसेर जापानिज स्टाइल टेम्पुरा प्राउन बनाउने तरिकाबारे चर्चा गर्दैछौं।
आवश्यक सामग्री
(१) प्राउन अर्थात् झिंगे माछा
(२) टेम्पुरा फ्लावर (पीठो)
(३) सनफ्लावर तेल
(४) नुन र मरिचको धुलो
(५) कागतीको रस
बनाउने तरिका
पहिले प्राउन (झिंगे माछा) र टेम्पुरा पीठो रेडिमेड किनेर ल्याउने। प्राउनलाई नुन, मरिचको धुलो र कागतीको रस हालेर राम्रोसँग मोल्ने। त्यसपछि टेम्पुरा ब्याटल बनाउने। टेम्पुरा ब्याटल भनेको टेम्पुरा पीठोमा पानी हालेर घोल्नु हो। बजारमा सुपर मार्केटहरूमा टेम्पुरा पीठो किन्न पाइन्छ।
टेम्पुरा पीठोमा चिसो पानी हालेर ठिक्कको लेदो बनाउने। अनि त्यसमा यसअघि राम्ररी मोलेको प्राउन मिसाउने। त्यसपछि यसअघि बनाएको टेम्पुरा ब्याटलमा डुबाउने। अनि तातो तेलमा फ्राई गर्ने। क्रिस्पी हुने गरी राम्रोसँग फ्राई गर्ने। बजारमा महँगो परिकार मानिने जापानिज स्टाइल टेम्पुरा प्राउन तयार भयो। अनि सोया ससमा डुबाएर खाने।