काठमाडौं- कांग्रेस नेता गुरुराज घिमिरेले नेपाली राजनीतिको वर्तमान परिदृष्यलाई रत्यौलीको संज्ञा दिएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत घिमिरेले नेपाली राजनीतिमा रत्यौली जारी रहेको बताएका हुन् ।
‘नेपाली राजनीतिमा रत्यौली जारी छ । रत्यौली संस्कृति त हो, तर सांस्कृतिक अराजकताको प्रवर्द्धन र प्रतिबिम्ब पनि हो तथापि यो सीमित घेराभित्र हुन्छ । त्यसैले स्वीकार्दै आएकाले मान्य छ,’ घिमिरेले भनेका छन्, ‘तर, राजनीतिमा नांगो रत्यौली छ र श्लील पनि छैन, अझ घेरा बाहिर छ । यसको रोकथाम नभए नेपाली राजनीतिले चरम अराजकताको बाटो समात्ने छ, नयाँ बाटो लिन पनि बेर छैन !’
कांग्रेसको १४औँ महाधिवेशनमा आफूलाई पार्टीको प्रदेश–१ सभापति निर्वाचनमा हराउन केन्द्रीय सभापति शेरबहादुर देउवा समूहले पद र शक्तिको दुरुपयोग गरेको आरोप घिमिरेले लगाउँदै आएका छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका घिमिरे पार्टीभित्र लोकप्रिय युवा नेता मानिन्छन् । उनी झिनो मतान्तरले प्रदेश–१ सभापतिमा पराजित भएका थिए ।