नयाँदिल्ली- भारतीय राष्ट्रिय टोलीका स्टार स्पिनर हरभजन सिंहले क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले ट्विटरमार्फत संन्यास घोषणा गरेका हुन् ।
केही दिनअघि पूर्वक्रिकेटर तथा पञ्जाब कांग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धुले ट्विटरमार्फत हरभजनसँगको एक तस्बिर सार्वजनिक गरेका थिए । जसमा लेखिएको थियो- सम्भावनाहरूबाट भरिपूर्ण तस्बिर ।
त्यतिबेलै हरभजन पनि कंग्रेसको राजनीतिमा प्रवेश गर्ने अनुमान धेरैको थियो । सन् २०२२ मा पञ्जाबमा विधानसभा निर्वाचन हुँदैछ ।
३ जुलाई १९८० मा पञ्जाबको जालन्धरमा जन्मेका हरभजनले भारतको तर्फबाट १०३ टेस्ट म्याच तथा २३६ एक दिवसीय म्याच खेलिसकेका छन् । टेस्टमा उनले ४१७ तथा वान डेमा २६९ विकेट लिएका छन् ।
भारतका लागि उनले २८ वटा टी-२० एक दिवसीय म्याच खेलेका छन् र २५ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा दुईवटा शतक उनको नाममा छन् ।
मार्च १९९८ मा उनले अस्ट्रेलियाविरुद्ध आफ्नो पहिलो टेस्ट म्याच खेलेका थिए । सोही वर्ष अप्रिलमा उनले आफ्नो पहिलो वान डे म्याच न्युजिल्यान्डविरुद्ध खेलेका थिए ।
उनी सन् २००७ मा टी-२० विश्वकप टिम तथा २०११ मा वान डे विश्वकप विजेता टिमको हिस्सा थिए । आईपीएलमा उनले चेन्नई सुपर किङ्, कोलकाता नाइट राइडर्स तथा मुम्बई इन्डियन्सको तर्फबाट खेलिसकेका छन् ।