जानकी- ‘मैले मेरी जेठानीलाई क्षयरोगले दिएको पीडा देखेपछि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएकी हुँ।’ यो भनाइ हो, नेपालगञ्ज उपमहानगरपालिका-१० पासाङल्हामु मार्गकी कुसुम दुगडको। क्षयरोग लागेकी जेठानीलाई पीडामा छटपटिएको देखेर क्यान्सर लाग्यो भने त आफूलाई योभन्दा बढी पीडा दिन्छ भन्ने डरले आफूले पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएको उनको भनाइ छ। कुसुमले खोपको सबै मात्रा पूरा गरेकी छन्।
कुसुमले मात्र नभई उनका दुई छोरीले पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाइसकेका छन्। छोरीले नै आफूलाई खोप लगाउन सुझाव दिएको बताउने कुसुमले अरू महिलालाई पनि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन सुझाव दिइन्। ‘क्यान्सर लागेर धेरै पैसा खर्च गर्नुभन्दा क्यान्सरविरुद्धको खोप लगाएर जीवनलाई स्वस्थ राख्नु नै उत्तम हुन्छ,’ उनी भन्छिन्, ‘खोप महँगो भए पनि हाम्रो आर्थिक अवस्थाले भ्याउँथ्यो त्यसैले हामी तीन आमा छोरीले नै यो खोप लगाएका छौँ।’
कुसुमजस्तै पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएकी प्रस्तुती शर्मा चिकित्सक पनि हुन्। उनले पनि आफ्नो स्वाथ्यको ख्याल गरेर पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएकी छन्। उनका अनुसार सबै डाक्टरले यो खोप लगाउँछन् भन्ने हुँदैन। कतिपयलाई यो खोपका बारेमा जानकारी छैन भने जानकारी भएकालाई पनि खोपको शुल्क महँगो भएकाले पनि उक्त खोप लगाउनबाट बञ्चित रहेको डा. प्रस्तुतिको भनाइ छ। डा. शर्माले नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत हुँदा आफूसँगै आमा र तीन जना आफन्तलाई पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाउन सल्लाह दिएकी छन्।
सरकारले सन् २०१५ देखि २०१६ मा पाठेघरको क्यान्सरविरुद्ध लगाइने खोपको कास्की र चितवनमा आरम्भ गरेको थियो। अहिले उक्त खोपलाई निजी अस्पतालले बिरामीको मागबमोजिम लगाउने गरेका छन्। त्यसरी खोप लगाउनेमध्ये बाँकेको नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पताल पनि एक हो। अस्पतालका बालरोग विशेषज्ञ डा. रोमा बोराका अनुसार अहिलेसम्म सात जनाले मात्र उक्त खोप लगाएका छन्।
खोप लगाउन जनही १० हजार रुपैयाँ खर्च हुने भएकाले पनि यो खोप लगाउन जो कोहीको क्षमताले नसक्ने डा. बोराले बताइन्। उनले भनिन्, ‘खोप महँगो छ। लगाउने इच्छा भए पनि खोपको मूूल्यकै कारण लगाउन सकिरहेका छैनन्। समयमै लगाउनसके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने जनचेतनाको पनि कमीकै कारण हुनसक्छ खोपप्रति यहाँका बासिन्दाको चासो खासै देखिएको पाइँदैन।’
खोपका बारेमा थाहा पाएर लगाउने इच्छा भएकाहरूलाई बाहिरबाट खोपको व्यवस्था गरी लगाउने गरेको डा बोराको भनाइ छ। उनका अनुसार १० देखि ४९ वर्षसम्मका महिला तथा बालबालिकाले यो खोप लगाएका छन्। १५ वर्षभन्दा तलका उमेर समूहले ६ महिना अन्तरालमा दुईपटक खोप लगाउनुपर्छ भने १५ वर्षभन्दा माथिका महिलाले ६ महिनाकै अन्तरालमा तीनपटक। एकपटक खोप लगाएपछि अर्को पटकको खोपलाई व्यवस्थापन गर्न चुनौती नै हुने गरेको डा. बोराले बताइन्।
परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ। समयमा नै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ। सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौन सम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने भेरी अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ कृतिपाल सुवेदीले बताए।
धुमपान गरेका महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने उनको भनाइ छ। यस्तै, पाँच वर्षभन्दा बढी हर्मोनयुक्त परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेका महिलामा पनि क्यान्सरको जोखिम रहने डा. सुवेदीले जानकारी दिए। उनका अनुसार भेरी अस्पतालमा दैनिक दुईदेखि तीन जनासम्म पाठेघरका क्यान्सरका बिरामी परीक्षणका लागि आउने गरेका छन्।
यस्तै, बाँके खजुरास्थित क्यान्सर अस्पतालमा पनि पाठेघरको मुखको क्यान्सरका विरामीको संख्या पछिल्लो समय बढ्दै गएको स्त्रीरोग विभागका प्रमुख एवं क्यान्सर सर्जन डा. इन्द्रनील घोषले बताए। ‘पहिलो, दोस्रो र तेस्रो चरणका सबै प्रकारका क्यान्सरका बिरामी पछिल्लो समय अस्पतालमा परीक्षण र उपचारका लागि आइरहेका छन्,’ उनले भने, ‘धेरैजसो बिरामी त तेस्रो चरणमा आउने गर्छन्। त्यस्ता बिरामीका लागि शल्यक्रिया नै अन्तिम विकल्प हुन्छ।’
पाठेघरको क्यान्सरविरुद्धको खोपको व्यवस्था नेपाल सरकारले नै गरेको भए महिलाको पाठेघरको क्यान्सरपीडित हुनबाट बच्न सकिने धेरै सम्भावना रहने उनले बताए। खोप महँगो भएकै कारण निःशुल्क गर्न नसके पनि थोरै शुल्कमा यो खोपको व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार खजुरा अस्पतालमा प्रत्येक महिना पाँचदेखि ६ जनासम्म पाठेघरको क्यान्सरका लागि उपचारका लागि जाने गर्छन्। अस्पतालको तथ्यांकअनुसार २४ देखि ६५ वर्षसम्मका क्यान्सर पीडितहरू छन्।
उनी भन्छन्, ‘ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को संक्रमणले हुने क्यान्सर हो। यो संक्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ।’ संक्रमण भएको आठदेखि १० वर्षपछि क्यान्सरमा परिणत हुन्छ। महिलालाई पाठेघरको मुखमा क्यान्सर भए-नभएको बारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात् गर्भाशय श्राव परीक्षण गरेर मात्र पत्ता लगाउन सकिन्छ। यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको डा घोषको भनाइ छ।
पहिलो चरणमै औषधि उपचार गरे निको हुने पाठेघरको क्यान्सरलाई तेस्रो चरणमा पुर्याएर शल्यक्रिया नै गर्नुपर्ने कारण चेतनाको कमी भएको डा. घोषको भनाइ छ। पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को संक्रमणका कारण हुन्छ। महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।
संगठनको तथ्यांकअनुसार यो रोगबाट बर्सेनि दुई लाख ७० हजारभन्दा बढी महिलाको अकालमै मृत्यु हुने गरेको छ। नेपालमा वार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ बिरामी थपिने गरेको देखिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले जनाएको छ। यसमा ८५ प्रतिशत कम विकसित अर्थात् नेपालजस्ता देशहरू पर्छन्। पाठेघरको मुखमा एचपीभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क शुरु भएपछि असर देखिन शुरु हुन्छ।