काठमाडौं- स्थापनाको छोटो समयमै विभिन्न आउटलेटसँगै ग्राहकको मन जित्न सफल सेफ्सबर्गर नेपालले क्रिसमस र अंग्रेजी नयाँ वर्षका लागि लाइभ म्युजिकदेखि कम्बो प्याकसम्मका अफर सार्वजनिक गरेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा संखुवासभा धर्मदेवी-८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोक गढी-७ का महेन्द्रमान तामाङ र सुरज तामाङको भेट दुबईको जुमेरा टावरको पाँचतार होटलमा हुन्छ। यी नेपाली युवाले लामो समय विदेशमा सेफ र हस्पिटालिटी सिक्छन्। र, स्वदेश फर्केर विदेशमा सिकेको सीप ग्राहकको सेवामा लगाउँछन्। काठमाडौं उपत्यकामा हालसम्म सेफ्स बर्गरका आठवटा आउटलेट खोलिसकेका छन्, उनीहरूले।
हरेक आउटलेटमा नयाँ वर्षमा सेफ्स बर्गरले लाइभ म्युुजिक गर्दैछ। क्रिसमस र नयाँ वर्षमा स्पेसल कम्बो प्याकेजका साथमा लगनखेल बसपार्कमा लोकप्रिय लाइभ ब्यान्डका साथमा लाइभ म्युजिकल कार्यक्रम सञ्चालन गर्दैछ।
लगनखेल बसपार्कमा रोमन्स ब्यान्डका अजय, अर्जुन र उनीहरूका साथीले लाइभ पर्फर्मेन्स दिँदै छन्। त्यसमा सेफ्स बर्गरले डिजाइन गरेका स्पेसल प्याकेजहरू पेय पदार्थमा स्न्याक्स फ्री, दुई वटा स्न्याक्स लिँदा एउटा पेय पदार्थ फ्री उपलब्ध गराइने छ। मध्य बानेश्वरको आउटलेटमा द हार्मोनिक ब्यान्डले लाइभ म्युजिक पस्किँदै छ। ठमेलको आउटलेटमा उर्ना ब्यान्डको प्रस्तुति रहनेछ।

अहिले चिसो मौसमका पेय पदार्थ हट रमपन्चको स्वाद ग्राहकले चाख्न पाउने सञ्चालक कटवालले जानकारी दिए। स्पेसल प्याकेजमा सानमिगेल बियरले क्रिसमस स्पोन्सर गरेको छ। दुईवटा सानमिगल बियर खाँदा एउटा स्न्याक्स फ्री दिइने गरी कम्बो प्याकेज डिजाइन गरिएको छ। ‘हामीले नयाँ लोकेसन हात्तीवनमा त्यहाँको स्थानीय समुदायलाई लक्षित गरी सहज तरिकाबाट डोरस्टेप (घर-घरमा) खानाहरूको स्वाद पुर्याउँदै छौँ,’ कटुवाल भन्छन्।
गत दशैंमा सेफ्स बर्गरले सामाखुशीमा आफ्नो नयाँ आउटलेट खोलेको थियो। क्रिसमस र नयाँ वर्ष अवसर पारेर त्यसको ग्रान्ड ओपनिङ गरिँदैछ। सामाखुशीको आउटलेटमा क्रिसमस र नयाँ वर्षमा लाइभ ब्यान्ड राखिने छ। ‘हाम्रा सबै आउटलेटमा केन्द्रीय ब्रान्डको अवधारणाअनुरूप अफर प्याकेज र सेवा उपलब्ध गराउने छौँ। विन्टर मेनु र क्रिसमस मेनु भनेर फरक-फरक डिजाइनमा दुईवटा कम्बो प्याकेज ल्याएका छौँ,’ सञ्चालक कटवाल भन्छन्, ‘सेफ बर्गर हाउसलाई फेसबुक पेज र इन्स्टाग्राममा फलो गर्न सकिन्छ। हाम्रो पेजलाई फलो गर्दा सबै क्रियाकलाप नजिकबाट नियाल्न सकिन्छ। लगनखेल, मध्य बानेश्वर, ठमेल र सामाखुशीको आउटलेटमा लाइभ ब्यान्ड र कम्बो मेनु सर्भ गर्दैछौँ।’ यस्तै, ठमेलस्थित आउटलेटमा रुम र डाइनिङको पनि व्यवस्था गरिएको छ। त्यहाँ वातानुकुलित नौवटा रुम छन्।
सेन्टर किचेनको अवधारणामा सेफ्स बर्गर
सेफ्स बर्गर ब्रान्डका खानालाई कन्सिस्टेन्ट बनाउने उद्देश्यले सेन्टर किचेनको अवधारणा ल्याइएको छ। सबै खानाको सेन्ट्रल प्रोडक्सन चाबहिलबाट हुन्छ। र, त्यहीँबाट सबै आठवटा आउटलेटमा खाना पुर्याइन्छ। फरक-फरक आउटलेटमा छुट्टाछुट्टै सेफहरूले खाना बनाउँदा स्वाद फरक हुने भएकाले कम्पनीले सेन्टर किचेनको अवधारणा ल्याएको हो।
अहिले सबै आउटलेटमा एकै स्वाद गुणस्तरका खाना सेफ्स बर्गरले पुर्याइरहेको छ। र, त्यसका लागि कुलरसहितको आफ्नै गाडी कम्पनीले खरिद गरेको छ। २६ मंसिरदेखि यो सेवा शुरु भएको हो। अहिले आउटलेटहरूले आफैँ सामान खरिद गर्दैनन्। केन्द्रीय हिसाबबाट सामान खरिद गर्न थालिएको छ। सबै सामान होलसेलरहरू मार्फत खरिद गर्ने गरिएको छ। त्यसबाट एकातिर सामान खरिद केही सस्तो र सुलभ बनेको छ भने अर्कातिर ग्राहकले एकै स्वाद र गुणस्तरका खाना खान पाएका छन्। भविष्यमा राम्रो ठाउँमा आउटलेटसहित ब्याङ्केट सञ्चालनको योजनामा कम्पनी अगाडि बढेको छ।
कर्मचारीलाई मालिक बनाउने योजना
सेफ्स बर्गरका भविष्यका योजना लोभलाग्दा छन्। कोरोना महामारीले बिथोलेको व्यापार भर्खर लयमा आउँदैछ। त्यसैले विस्तारै भविष्यका योजनामा अगाडि बढ्दैछ, यो कम्पनी। सेफ्स बर्गरमा कुक तालिमको व्यवस्था छ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्केका उत्साही युवाको समूहको पहिचान हो, सेफ्स बर्गर ब्रान्ड। उनीहरू सबैले कम्पनीमा कामदारको अनुभव बटुलिसकेका छन्। त्यसक्रममा आर्जन गरेको अनुभव र विज्ञताबाट पाठ सिक्दै उनीहरूले आफ्नो कम्पनीका कर्मचारीहरूको जीवन सुरक्षा र प्रोत्साहनमा कुनै कसर नछाड्ने योजना बनाएका छन्। त्यसैले सेफ्स बर्गर ब्रान्डमा लामो समयदेखि काम गरिरहेका उत्कृष्ट सहकर्मीहरूलाई हरेक वर्ष तीनदेखि पाँच लाखसम्मको सेयर उपलब्ध गराउन थालेका छन्। ‘लामो समयदेखि सेफ्स बर्गरमा काम गरिरहेका सहकर्मीलाई कम्पनीको मालिक बनाउने स्किम हो यो,’ कटवाल भन्छन्। हालसम्म कम्पनीमा ११३ जना कर्मचारी आबद्ध छन्।
पाँच वर्षभित्रमा काठमाडौं उपत्यकाम २० वटा आउटलेट खोल्ने योजना बनाएका छन्। उपत्यकाबाहिर इटहरी र पोखरामा आउटलेट खोल्ने तयारीमा छन्। दैवी प्रकोपले कुनै असर नगरेमा चाँडै इटहरी र पोखरामा सेवा विस्तार गर्दैछन्।
दुबईमा भेट भएका तीन नेपाली युवाको सपनाको संसार
करिब १७-१८ वर्ष दुबईको पाँचतारे होटलमा सेफ र हस्पिटालिटीमा निपुणता हासिल गरेका तीर्थराज कटवाल, महेन्द्रमान तामाङ र सुरज तामाङको सपनाको संसार हो, सेफ्स बर्गर ब्रान्ड। ‘एउटा यस्तो प्लेटफर्म बनाऊँ, जहाँ हाम्रो आफ्नो पहिचान पनि बनोस् र हामीले आफ्नो सीप नयाँ युवामा प्रसार गर्दै उनीहरूले वैदेशिक रोजगारीमा पनि योग्यताअनुसार काम पाउन्’ भन्ने सोच अनि सीपको उपजका रूपमा ०७५ सालमा काठमाडौं चाबहिलमा पहिलो सेफबर्गर नेपाल स्थापना गरेका थिए।

फागुन ०७५ सुरज र महेन्द्रमान छुट्टिमा घर आएका हुन्छन्। त्यही बेला चाबहिलमा सेफ्स बर्गर हाउस स्थापना गर्छन्। बिदामा आएर खोलेको उक्त रेस्टुराँको योजना भने उनीहरूले विदेशमै बनाइसकेका थिए।
तीर्थराज भन्छन्, ‘सेफ्स बर्गर हाउस सेफहरूको समूहले मिलेर खोलेको रेस्टुराँ हो, जसमा विभिन्नथरिका कुइजिन पाइन्छ। झट्ट सुन्दा बर्गर मात्र पाइने हो कि भन्ने धेरैलाई लागे पनि हामीले विभिन्नथरिका कुइजिन मेनुमा राखेका छौँ।’
हरेक सेफका आफ्नै कौशल
तीर्थराज ग्राहक केन्द्रित सेवा अर्थात् हस्पिटालिटीमा पोख्त छन्। उनले ‘स्पा तथा वेलनेस’ मा दुबईमा एक वर्ष डिप्लोमा पनि गरे। काम गरिरहेको कम्पनीबाट उनले उक्त कोर्सका लागि मौका पाएका थिए। महेन्द्रमान भने एसएलसी उत्तीर्ण भएसँगै सेफ लाइनमा लागे। विदेश जानुअघि उनले नेपालमै पनि ठमेलमा सेफको रूपमा बाटो पहिल्याइसकेका थिए। त्यसपछि उनले इटालियन र फ्रेन्च कुइजिनमा दक्षता हासिल गरे। १७-१८ वर्षको अवधिमा उनी थाई, भियतनामी, मलेसियन, सिगापुरियन र युरोपियन गरी अन्तर्राष्ट्रिय खानामा ‘अल राउन्डर’ बनेका छन्। सुरज तामाङको विशेषज्ञता एसियन कुइजिनमा छ। इटालियनमा पिज्जामा पनि उत्तिकै दक्ष छन्।
सेफ्स बर्गरको मल्टी कुइजिन- स्वादिलो पनि, अर्गानिक पनि
झट्ट सुन्दा बर्गर मात्र पाइने फास्टफुड रेस्टुराँजस्तो लागे पनि मेनु हेरेर मल्टी कुइजिन ब्रान्ड छनोट गर्न पाउँदा ग्राहकले अलग्गै आनन्द अनुभूति गर्न सक्छन्। सेफ्स बर्गरमा थाई, कोरियन, कन्टिनेन्टल गरी मल्टी कुइजिन विभिन्नथरिका खानाको स्वाद लिन सकिन्छ। ‘हाम्रो विशेषतामा पार्टी भेनु आयोजना गर्ने, डाइनिङ, फास्ट कस्टोमर सर्भिस तथा टेकअवे सेवा छन्,’ कटवाल भन्छन्, ‘टेकअवेअन्तर्गत फुडमान्डु, पठाओ, ‘पिक मी’ गरी अन्य फुड डेलिभरी पार्टनर छन्।’
पहिलो कोरोनाकालमा व्यापार ठप्प हुँदा स्टाफ पाल्नसमेत धौधौ परेको अनुभव महेन्द्रमानसँग छ। पछिल्लोपटकको निषेधाज्ञामा टेकअवेले व्यापारलाई थोरै भए पनि राहत दिएको उनको भनाइ छ। अहिले निषेधाज्ञा छैन तर उनीहरूको टेकअवे सेवा निरन्तर छ।
२०७५ सालमा चाबहिल गोपीकृष्ण हल पछाडि पहिलो आउटलेट खोलेसँगै हालसम्म आठवटा आउटलेट उनीहरूले खोलिसकेका छन्। दोस्रो आउटलेट उनीहरूले बौद्ध टुसालमा खोलेका थिए। ०७६ सालको अन्तिमतिर मध्यबानेश्वरस्थित एपेक्स कलेज छेउमा सेफ्स बर्गरको तेस्रो आउट स्थापना भयो।
२०७७ सालमा कोरोना सुरुवात हुने समयमा चौथो आउटलेट लगनखेलमा स्थापना भयो। अहिले ठमेल ज्याठामा पाँचौँ आउटलेट खुलेको छ। दशैँताका सामाखुशीमा छैटौँ आउटलेट सञ्चालनमा आयो। भक्तपुर बालकोट र ललितपुर हात्तीवनमा सातौँ र आठौँ आउटलेट सञ्चालनमा आइसकेका छन्।

सेवा विस्तारमा केन्द्रित
संस्थापकहरूले जनही ८० लाख रुपैयाँ लगानी गरेका छन्। यस्तै, बोर्डमा रहेका अन्य तीन युवाले ५० लाख रुपैयाँ लगानी गरेका छन्। नेपालमै व्यवसाय गरेर बसेका काभ्रेका उत्तम दुलाल र छ्याङ लामा तथा धादिङका वसन्त सिंखडा बोर्डका सदस्य हुन्। यसरी नै कम्पनीलाई अगाडि बढाइरहेका छन्, उनीहरूले।
सेफ्स बर्गरको उद्देश्य आउटलेट खोलेर पैसा कमाउनु मात्रै नभई सोसल वर्क र युवालाई तालिम दिनु पनि हो। नेपालबाट हातमा सीप नभएका दाजुभाइलाई सिपालु बनाएर विदेश पठाउन सके सहजै काम पाउने उनीहरूले लामो समयको वैदेशिक रोजगारीमा जानकारी हासिल गरेका छन्।
कटवाल भन्छन्, ‘हातमा राम्रो सीप नहुँदा हामीले विदेशमा कति नेपाली दाजुभाइ, दिदीबहिनीले दुःख पाएको देखेका छौँ। भविष्यमा त्यस्तो अवस्था नरहोस् भन्ने हाम्रो लक्ष्य हो।’
अहिले पनि उनीहरूले बरिस्ता कफीको तालिम सेफ्स बर्गरमा सञ्चालन गरिरहेका छन्। चाँडै नै कुइजिन सिकाइका लागि सेन्ट्रल किचेन स्थापना गर्दै छन्। र, ‘सर्भिस ओरिएन्टेड’ तालिम शुरु गर्दै छन्। सेफ्स बर्गरमा होम-मेड र अर्गानिक मसलाहरू मात्र प्रयोग गर्छन्। आफैँ सेफ भएको नाताले उनीहरू यसमा अनुभवी छन्। रेडिमेड ससजस्ता वस्तु उनीहरू प्रयोग गर्दैनन्।
महेन्द्रमान भन्छन्, ‘रेडिमेड सामानमा के कस्तो मिश्रण भएको छ, थाहा हुँदैन। लामो समय सेफ भएका कारण आफैँलाई ती सामान बनाउने प्रोसेस र आवश्यक सामग्रीबारे जानकारी छ। र, अन्य रेस्टुराँको तुलनामा हाइजेनिक र स्वादिलो खाना पाइने प्रतिक्रिया ग्राहकबाट पाउँदै आएका छौँ।’
भविष्यमा सिन्धुपाल्चोकमा उत्पादित एभोकाडो, संखुवासभाको नास्पाति, मास, खुर्सानीजस्ता गाउँमा किसानले फलाएका स्थानीय जातका अर्गानिक खाद्यवस्तु खरिद गरेर ल्याउने योजना तयार गरिरहेका छन्। छिट्टै ती खाद्यवस्तु सेफ्स बर्गर किचेनका शोभा बन्ने छन्। ‘सेफ्स बर्गरको पहिचान गाउँ’ र ‘गाउँको पहिचान सेफ्स बर्गर’ उनीहरूले नारा नै बनाएका छन्। र, यसमा प्रचुर सम्भावना देखेका छन्।