काठमाडौं- भक्तपुर, नवलपरासी (पूर्व), रुपन्देही, अर्घाखाँचीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिका-८ जगातीस्थित महेश्वरी इँटाभट्टा परिसरमा बा.२ क १४१ नम्बरको गाडीको ठक्करबाट सोही भट्टामा काम गर्ने काभ्रे रोशी गाउँपालिका घर भएकी माया तामाङको छोरा २ वर्षीय मुस्कान तामाङको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको डा. ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका-१० पितौजीमा ग.१५ प ४९७१ नम्बरको स्कुटरले ना.४ ख ६४४७ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर पछाडी सवार नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-४ बस्ने ३९ वर्षीया गंगा जोशीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही सियारी गाउँपालिका-३ भैसाखादरमा लु.२ त ५८७२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-७ कनरी बस्ने ५५ वर्षीय कृष्ण मुरारी केवटको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँची भूमिकास्थान नगरपालिका-७ नुवकोट चाङगीपोखरामा लु.१ ज ४४०७ नम्बरको जिपबाट लडेर सोही नगरपालिका-७ पानडाँडा बस्ने पदम जिसीकी छोरी १५ वर्षीया सपनी जिसीको शुक्रबार साँझ मृत्यु भएको छ । जिपको पछाडी ढोकामा झुण्डिएको अवस्थामा अचानक खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।