नयाँदिल्ली- कोभिड–१९ महामारीका कारण डेढ वर्षदेखि बन्द रहेको दिल्ली–काठमाडौं बस सेवा भोलि (बुधबार)देखि पुनः सञ्चालनमा आउने भएको छ।
भारत सरकारको दिल्ली ट्रान्सपोर्ट कर्पोरेसन (डीटीसी)का अनुसार बुधबार बिहान १० बजे दिल्लीको अम्बेडकर बस टर्मिनलबाट पहिलो बस काठमाडौंका लागि प्रस्थान गर्नेछ । डीटीसीले दिल्ली–काठमाडौं रुटमा बस सेवा सञ्चालन गर्न स्काइलान इन्डिया (मोटर्स)सँग सम्झौता गरेको छ ।
डीटीसीका डेपुटी चिफ जनरल म्यानेजर आरएस मिन्हासका अनुसार बस सेवा सञ्चालनमा ल्याउन भारत सरकारको गृह मन्त्रालयले हालै जारी गरेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरिनेछ ।
नोभेम्बर २०१४ देखि काठमाडौं–दिल्ली रुटमा बस सेवा शुरु भएको थियो । कोभिड–१९ महामारीका कारण २३ मार्च २०२० देखि सेवा बन्द भएको थियो।
यस रुटमा यात्रा गर्न चाहनेहरूले कोभिड–१९ खोपको दुवै मात्रा लगाएको र पछिल्लो ७२ घण्टामा आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट बोकेको हुनुपर्नेछ ।
यो रुटको दूरी ११ सय ६७ किलोमिटर छ भने भाडा २८ सय भारतीय रुपैयाँ (४४८० नेपाली रुपैयाँ) निर्धारण गरिएको छ । सोमबार, बुधबार र शुक्रबार गरी साताका तीन दिन बस दिल्लीबाट हिँड्छन् । काठमाडौंबाट मंगलबार, बिहीबार र शुक्रबार दिल्लीका लागि बस छुट्छन् ।