काठमाडौं- देशभर पाँच ठाउँमा भएका सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ ।
दाङ तुलसीपुर उपमहानगर–३ श्रीखोलानजिक सडकमा तुलसीपुरबाट सल्यान कपुरकोटतर्फ जाँदै गरेको रा१ज ४३८ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार चारजनाको मृत्यु भएको छ ।
उनीहरूमध्ये तीनको घटनास्थलमै र एकजनाको नेपालगञ्ज नर्सिङ होम बाँकेमा उपचार क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १६ जनामध्ये दुईको कोहलपुर मेडिकल हल र सातको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । अन्य सातजना उपचारपछि डिस्चार्ज भएका छन् ।
यस्तै, काठमाडौं महानगरपालिका-६ बौद्धस्थित सडकमा बा५८प ७७७३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-६ बौद्ध रामहिटी बस्ने नुवाकोट सिखुरे घर भएका ७४ वर्षीय कृष्णबहादुर नेपालीको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बौद्धस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ पथरीशनिश्चरे नगरपालिका-२ जयचोकमा बा२०च २१६२ नम्बरको स्कर्पियो र प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३४ वर्षीय शंकर पोखरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पथरी अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, मोरङ बुढिगंगा गाउँपालिका–१ गंगाचोकमा प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भएका ४० वर्षीय दिनेश पटेलको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचार क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।
चितवन भरतपुर महानगरपालिका–१५ मंगलपुर चोकस्थित सडकमा से१च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने तुलबहादुर मिङ्मी मगरको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।