काठमाडौं– कांग्रेसको नयाँ केन्द्रीय नेतृत्वका लागि सोमबार जारी मतदानमा अपराह्न तीन बजेसम्म ८७८ मत खसेको छ ।
बिहान ८ बजेदेखि तय भएको मतदान मध्याह्न १२ बजे मात्र शुरु भएको थियो । कांग्रेका १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्न राष्ट्रिय सभागृहमा एक र भृकुटीमण्डपमा दुई गरी तीनवटा मतदान स्थल तोकेको छ ।
निर्वाचन समितिका अनुसार तीन बजेसम्म राष्ट्रिय सभागृहमा ३४३ र भृकुटीमण्डपमा ५३५ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एकजना प्रतिनिधिलाई मतदान गर्न कम्तिमा आधा घण्टा लाग्छ ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा ४ हजार ७४३ छ ।