काठमाडौं- कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानदेखि मतदान जारी छ ।
मतदानका लागि राष्ट्रिय सभागृहमा दुई र भृकुटीमण्डपमा एक गरी तीनवटा मतदान केन्द्र बनाइएको छ । ती केन्द्रमा निर्माण गरिएको एक हजार एक सय बुथमा मतदान हुनेछ ।
मतदान सहजीकरणका लागि स्वयंसेवकहरू परिचालन गरिएको छ । सभापतिलगायत पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान हुने भएकाले एक जनालाई आधा घण्टाभन्दा बढी समय लाग्ने छ । मतदान शान्तिपूर्ण ढंगले गराउन सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
मतदानस्थललगायत समग्र सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । मतदानका लागि ८७ वटा मतपेटिका व्यवस्था गरिएको छ । हरेक मतदान केन्द्रमा २९–२९ वटा मतपेटिका राखिने निर्वाचन समितिले जनाएको छ ।
गएराति प्रकाशित गरिएको उम्मेदवारको अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङ गरी पाँच जनाको उम्मेदवारी कायम भएको छ ।
यस्तै, दुई उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातजनाको उम्मेदवारी कायम छ । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।