काठमाडौं- कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिँदा सभापति र महामन्त्रीमा ६-६ जनाको उम्मेदवारी परेको छ।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन्।
गच्छदार र खड्का देउवाको प्यानल, गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता प्रकाशमान प्यानल र दिव्यश्वरी शाहले निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन्।
महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन्। महत र पौडेल सभापति देउवा, रिजाल र थापा कोइराला, शर्मा प्रकाशमान र कार्कीले निधि प्यानलबाट उम्मेदवारी दिएका छन्।
यस्तै, आठ सह-महामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ। सह-महामन्त्रीमा खस आर्य, महिला, दलित, मधेशी, जनजाति, पिछडिएको क्षेत्र, थारू र अल्पसंख्यक क्लस्टरबाट एक-एक जना निर्वाचित हुनेछन्।
देउवा समूहबाट महिला कोटाको सह-महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारूबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन्।
शेखर कोइराला समूहबाट सह-महामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेशीबाट रामकृष्ण यादव, थारूबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन्। सह-महामन्त्रीमा उनीहरूबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन्।
यस्तै, खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ। कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ।