काठमाडौं- भृकुटीमण्डपमा आयोजित भव्य समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको एप ‘नेपाली कांग्रेस’ सार्वजनिक गर्दै कांग्रेसको १४औँ महाविधेशनको उदघाटन गरेका छन् । प्रविधिमैत्री एवं डिजिटल कांग्रेस बनाउने अभियानका साथ कांग्रेसले एप तय गरेको हो । एपमा पार्टीका सबै गतिविधि समेटिएको छ ।
यस्तै, दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको स्मरणमा तयार पारिएको पुस्तकसमेत उदघाटन सत्रमा सार्वजनिक गरिएको छ । ‘उत्साह, एकता र रूपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो ।
उदघाटन समारोहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कालगायत कांग्रेसका केन्द्रीय नेताको सहभागिता छ । महाधिवेशनको सफलताको शुभकामना दिनका लागि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेल उपस्थित छन् ।
यस्तै, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि महाधिवेशनस्थलमा उपस्थिति छ । भारतबाट भाजपा र कंग्रेस आईका प्रतिनिधि आएका छन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह–महामन्त्रीसहितका पदाधिकारी र १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।