कालिकोटको नरहरिनाथ गाउँपालिका-३ (साविक कुमालगाउँ गाविस-५) मा ०३६ सालमा जन्मेका नारायणप्रसाद भट्टराई स्कुले जीवनदेखि नै कांग्रेसको राजनीतिमा होमिएका हुन्। नेविसंघ, नेपाल प्रेस युनियन, नेपाल ट्रेड युनियन कांग्रेस, तरुण दल हुँदै अहिले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछन्, उनले। उनी किन कांग्रेस केन्द्रीय सदस्य बन्न चाहन्छन्? यही विषयमा केन्द्रित रहेर नेपाली हेडलाइनले भट्टराईसँग गरेको संवाद :
कांग्रेसमा तपाईंको योगदान प्रष्ट्याइदिनूस् न।
स्कुले जीवनदेखि नै कांग्रेसको राजनीतिमा आबद्ध भएको हुँ। पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सानै उमेरमा सहभागी भएँ। खासगरी, ०४६ सालको आन्दोलनमा अग्रजहरूसँगै सहभागी भएँ। त्यतिबेला जानी-नजानी कांग्रेसको राजनीतिमा जोडिन पुगेँ। बहुदलवादीका रूपमा स्कुलमा पर्चा पम्प्लेटिङ गर्न पुगेँ। बहुदलवादी नेताहरूको पछि लागियो। समयक्रममा बुझ्दै जादाँ उहाँहरू कांग्रेसको नेता हुनुहुँदो रहेछ। तिलकप्रसाद न्यौपाने, पंखबहादुर बिष्ट हुनुहुन्थ्यो, उहाँहरू।
आन्दोलनको कमान्ड पंखबहादुर बिष्टले सम्हाल्नुभएको थियो। त्यो कुरा मैले पछि मात्र थाहा पाएँ। त्यसपछि बहुदल आयो। कालीकोटको काटबाडास्थित नन्दादेवी माविमा अध्ययनरत थिएँ, त्यतिबेला। अहिले त्यहाँ क्याम्पस पनि सञ्चालन हुँदै आएको छ।
कांग्रेसमा आबद्धता कसरी शुरु भयो?
स्कुल पढ्दा नै म नेविसंघको सचिव भएर काम गरेँ। ०४९ सालमा नेविसंघको जिल्ला कमिटी सदस्य भएँ। ०५० सालमा नेविसंघको जिल्ला सचिव भएँ। ०५१-५२ सालमा नेविसंघ जिल्ला समितिको कार्यवाहक अध्यक्ष भएँ। ०५३ सालमा नेविसंघको राष्ट्रिय महाधिवेशन प्रतिनिधि बनेँ। त्यसपछि उच्च शिक्षा पढ्न सुर्खेतमा झरेँ। त्यसपछि काठमाडौं आएर कानून र समाजशास्त्रमा स्नातकोत्तर गरेँ।
त्यसपछि ट्रेड युनियन कांग्रेस कालिकोटको संस्थापक अध्यक्ष भएँ। कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियन, कालिकोटको संस्थापक अध्यक्ष भएँ। ०५९ सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्य भएँ। त्यतिबेला नेपाली कांग्रेस विभाजित बनेको थियो। म भने मुलधारमै कांग्रेसको तरुण दलको केन्द्रीय सदस्य बनेँ। सोही हैसियतमा मैले तरुण दलको संगठन विस्तार गर्न ६० जिल्ला घुम्ने अवसर पाएँ।

तत्कालीन राजा ज्ञानेन्द्रको १८ असोज ०५९ को कदमलाई कांग्रेसले प्रतिगमन भन्यो। र, जनआन्दोलनको उभार ल्याउन देशव्यापी अभियान चलायो। आन्दोलन सफल बनाउने उद्देश्यले पार्टीले अञ्चल कमिटीहरू गठन गरेको थियो। त्यसबेला मैले कर्णाली-काठमाडौंको अञ्चल कमिटि सचिव भएर काम गरेँ। र, १९ माघ ०६१ को राजा ज्ञानेन्द्रको कदमविरुद्ध लोकतन्त्रिक आन्दोलनमा होमिएँ।
राजा ज्ञानेन्द्रले नगरपालिकाको निर्वाचन घोषणा गरे। त्यसबेला देशभरमा ५८ वटा नगरपालिका थिए। म धेरै नगरपालिकामा राजाले घोषणा गरेको चुनाव बहिष्कार अभियानमा सामेल भएँ। र, झण्डै ३० वटा नगरपालिकामा पुगेँ। ०६३ मा देशमा लोकतन्त्र आयो। ०६४ सालको संविधानसभा निर्वाचनमा कालिकोटबाट मेरो नाम सिफारिस भएको थियो। संयोगले मैले टिकट पाइनँ।
२०६७ सालमा भएको पार्टीको बाह्रौँ महाधिवेशनदेखि म निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएको छु। पार्टीको बाह्रौँ र तेह्रौँ राष्ट्रिय महाधिवेशनमा पनि मैले केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारी गरेको थिएँ। त्यसबेला मैले अग्रजहरूका लागि छाडेको थिएँ। पछिल्लो पुस्तालाई पनि कांग्रेसमा आकर्षित गर्नुपर्छ भनेर यसपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिन खोजेको हुँ।
यसपटक जिल्ला तहको नेतृत्व कसरी छनोट भयो, कालिकोटमा?
कालिकोटबाट मलगायत अन्य सबै सर्वसम्मत नेतृत्व चयन भएको हो। हामीले वडादेखि जिल्ला तहसम्म सर्वसम्मत नेतृत्व चयन गर्यौँ । त्यो प्रस्ताव गर्ने म नै थिएँ। एक वर्ष अघिदेखि नै त्यसको प्रयास भएको हो। त्यो जिल्लाको आवश्यकता हो। हामीले गुटभन्दा माथि उठ्नुपर्छ। पार्टीलाई हामीले सङ्लो र सुदृढ बनाउनुपर्छ र आगामी निर्वाचन जित्नुपर्छ भन्ने नै हो।
अब ३-४ महिनापछि स्थानीय तहको निर्वाचनमा जादैछौँ। त्यसको एक वर्षपछि प्रदेश र संघीय संसदको निर्वाचन हुँदैछ। त्यसका लागि पार्टीलाई सुदृढ बनाउनका लागि पार्टी बलियो बनाउन मैले गत वर्ष जिल्ला कार्यसमितिमा नै सर्वसम्मत नेतृत्व चयनका लागि प्रस्ताव गरेको थिएँ। जिल्लाका सबै तहका नेताहरू सकारात्मक हुनुभयो।
कांग्रेसलाई कसरी नवीनता दिन सकिन्छ भन्ने लाग्छ?
देशको राजनीति सत्तामुखी, नेतामुखी र नाफामुखी भएको छ। यसलाई छिचोलेर पार्टीमा पुनर्जागरण गर्नुपर्नेछ। सुधार ल्याउनुपर्नेछ। अहिलेका समाजका माग र हाम्रो अघिल्तिरका चुनौतीहरू सम्बोधन गर्नका लागि कांग्रेस नवीन बन्न जरुरी छ। पार्टीलाई रूपान्तरण गर्न आवश्यक छ। यी आवाजहरूलाई संश्लेषित गरेर अगाडि बढ्नुपर्छ। यसका लागि नयाँ पुस्तालाई जोड्दै र अग्रजहरूको योगदान र लगानीलाई सम्मान गर्दै अगाडि बढ्न जरुरी छ।
यसपटक नयाँ पुस्ताबाट १८-१९ वर्षका नेताहरू पनि महाधिवेशन प्रतिनिधि भएर आउनुभएको छ। उमेरको उत्तरार्द्धमा पुग्नुभएका वा आठ दशक पार गरेका नेताहरू पनि क्रियाशील हुनुहुन्छ। ८० वर्ष र १८ वर्षको अन्तरलाई जोड्न कांग्रेसमा नयाँ नेतृत्व चाहिएको छ। यसलाई जोड्ने संकल्पका रूपमा मैले कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवारी दिँदैछु।
त्यो कसरी सम्भव होला त?
यसका लागि दुई-तीनवटा पाटोमा सुधार गर्नुपर्नेछ। फन्डामेन्टल्ली हाम्रो विधान टेक्निकल्ली रूपमा मिलेको छैन। जस्तो- हामी संघीय संचरनामा गएका छौँ। देशमा तीन तहको संचरना बनेको छ- संघ, प्रदेश र स्थानीय तह। कांग्रेसको विधानमा भने आठवटा तह छन्। वडा छ, पालिका छ, अझ टोल छ, जिल्ला छ, प्रदेश छ, केन्द्र छ, संघीय निर्वाचन क्षेत्र छ। यो लामो संरचना आवश्यक हो कि होइन? महाधिवेशनपछि यसलाई बहसमा लैजानुपर्छ। यो संचरना कति कामयावी हुन्छ। यस पाटोमा बहस हुन जरुरी छ। कांग्रेसले बोक्दै आएको आइडोलोजी र अहिले पुस्ताको आवश्यकतालाई जोड्न वैज्ञानिक सुधारको आवश्यकता छ। केही राजनीतिक सुधारको आवश्यकता पनि छ। केही कार्यविधिमा सुधार गर्नुपर्नेछ। त्यसका लागि पनि कांग्रेसको केन्द्रमा जान जरुरी ठानेको हुँ।

मुलुककै पिछडिएको क्षेत्र कर्णालीका लागि तपाईंका एजेन्डा के छन्?
म कर्णालीबाट प्रतिनिधित्व गर्छु। कर्णाली आफैँमा सम्पन्न छ। प्राकृतिक, कला, सांस्कृतिक, ऐतिहासिक गौरवगाथाका हिसाबले कर्णाली सम्पन्न छ। भौगलिक विकटतालगायत पक्षलाई सुधार गर्नुपर्नेछ। ती आवाजहरूलाई उठाउनका लागि पनि मेरो उम्मेदवारी हो। मेनस्ट्रिममा त्यहाँको आवाज आइरहेको छैन। ती आवाजहरू उठाउनका लागि नै मेरो उम्मेदवारी हो।
यस्तै, अहिले हामीले समावेशिताको अभ्यास गरिरहेका छौँ। यसको प्रयोग पनि ठीक ढंगले भएको छैन। प्रिन्सिपल्ली ठीक छ तर व्यावहारिक पक्ष कहीँ न कहीँ अपुग छ। त्यसमा सुधार आवश्यक देखिएको छ। जुन वर्गका लागि हामीले समावेशिताको कुरा ल्यायौँ, त्यो कुरा त्यो वर्गमा पुग्यो कि पुगेन भनेर हेर्न बाँकी नै छ। जो यसको लाभग्राही, सेवाग्राही र हितग्राही हो, त्यहाँ पुगेको छ या छैन। यो गहन विषय छ। यसको समुचित उपयोगका लागि पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ।
कांग्रेस केन्द्रीय सदस्य निर्वाचित हुनुभयो भने के गर्नुहुन्छ?
म आजमा मितिसम्म पनि युवाको प्रतिनिधित्व गर्छु। झण्डै एक दशक देशका युवाको गौरवमय इतिहास बोकेको तरुण दलमा काम गरेको अनुभव छ। तरुण दलकै माध्यमबाट आफूलाई देश र विदेशमा चिनाउने मौका पाएँ। त्यसकारणले पनि म युवाको आवाजको प्रतिनिधित्व गर्छु। मैले ३० वर्षे राजनीतिक जीवनमा हाइस्कुल पढ्दादेखि राजनीतिमा लागेको एउटा लिगेसी बोकेको छु। नेताहरूसँगको सामिप्य, आफ्नो प्रकारको सम्बन्ध र पहुँचको स्पिरिट छ। त्यसलाई निरन्तरता दिन चाहन्छु।
नेपालको राजनीतिमा केही विसंगत र विकृत पक्षहरू छन्। राजनीति आज एउटा पेशा र अझ व्यवसायका रूपमा देखिन थालेको छ। अझ, सत्ता हत्याउने साधनका रूपमा राजनीतिलाई प्रयोग गर्ने गरिएको छ। म यसमा सुधार चाहन्छु। यहाँ अहिले डनको प्रयोग र धनको प्रयोग हुँदै आएको छ। राजनीतिलाई त्यही पावरले कब्जा गरेको छ। यसलाई सुधार र सफाइ नगरिकन नेपालको राजनीतिमा सुधार आउँदैन।
राजनीतिसँग राज्य र नागरिकको जुन अपेक्षा छ, त्यसलाई पूरा नगरी हुँदैन। यसको सुधारका लागि कांग्रेसजस्तो मुलधारको पार्टी, जसले लोकतन्त्रको स्थापना गर्यो, गणतन्त्रको स्थापनाका लागि अहम् भूमिका वहन गर्यो, जसले इतिहासको रचना गर्यो। कांग्रेसजस्तो पार्टी राजनीतिमा सुधारबाट टाढा रहन मिल्दैन। त्यसका लागि कांग्रेसमा रूपान्तरणको जरुरी छ। त्यसका लागि हाम्रो पुस्ताको भूमिका महत्त्वपूर्ण छ।
अझ, हामीभन्दा पछिल्लो पुस्ताको प्रतिनिधित्व पनि जरुरी छ। त्यसकारण कांग्रेसमा समग्र रूपमा सबै तह, तप्का, वर्ग र उमेर समूहको आवाज समेट्न जरुरी छ। यो कांग्रेसलाई नवीन बनाउने अभियान हो। यो कांग्रेसलाई समुन्नत बनाउने अभियान हो। कांग्रेसका माध्यमबाट देशमा सुशासन कायम गर्ने, नागरिकको हितका लागि काम गर्ने हो। राज्यको अन्तिम लक्ष्य भनेको आफ्ना नागरिक सुखी र खुशी बनाउने हो। सुखी र खुशी बनाउने मार्गचित्रबाटै देशले सुशासन पाउँछ।
नागरिकलाई सुखी र खुशी राख्ने भनेको सरकारले दिने सेवा प्रवाहबाट हो। राजनीतिक पार्टीहरू माध्यम मात्र हुन्। यी माध्यम अझ सशक्त र स्पष्ट हुनुपर्छ। त्यो हिसाबले पनि मैले आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारमा योग्य र सक्षम सम्झेको छु।
आफ्ना मतदाता अर्थात् महाधिवेशन प्रतिनिधिहरूलाई तपाईंको सन्देश के छ?
सबै महाधिवेशन प्रतिनिधिज्यूहरूमा मेरो आग्रह छ, अनुरोध छ। मैले कांग्रेस पार्टीमा ३० वर्षसम्म योगदान गरेँ। विद्यार्थीको रूपमा, तरुणको रूपमा, पार्टीको एउटा सिपाहीको भूमिका वहन गरेको छु। पार्टी सदस्यका रूपमा मैले जे योगदान गरेको छु, त्यस आधारमा पनि सक्षम छु भन्ने लागेको छ।
केन्द्रीय सदस्य बन्नु आफ्नो हक होजस्तो लाग्छ। मेरो हकसँगै महाधिवेशनका तमाम साथीहरू र देशभरका लाखौँ सदस्यहरूको अधिकार जोडिएको छ। त्यसकारणले सजकतापूर्वक रूपान्तरणको पक्षमा र नवीनताको पक्षमा महाधिवेशन प्रतिनिधि साथीहरूलाई महाधिवेशनमा मेरो पक्षमा मतदान गर्नका लागि अपिल पनि गर्न चाहन्छु।
यहि अपिलका साथ देशैभरका साथीहरूलाई विश्वास पनि दिलाउन चाहन्छु। म कांग्रेस पार्टीको केन्द्रीय समितिको जिम्मेवारी लिँदै गर्दा तपाईंका अगाडि जे प्रतिबद्धता जाहेर गरेको छु, त्यो आगामी दिनमा मन, बचन र कर्मले पूरा गर्नेछु। मैले जति सक्छु, जति भ्याउँछु, त्यो इमानदारितापूर्वक काम गर्नेछु। सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई फेरि भन्छु, कांग्रेसलाई समयसापेक्ष बनाउनु छ। यसलाई बगिरहने नदीजस्तै गतिशील बनाउनु छ। जमेको पोखरीजस्तो होइन। यही कुरा सम्झेर मत दिनु होला।