काठमाडौं- पर्सा र सप्तरीबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा वीरगञ्जस्थित जगदम्बा मेटल क्राफ्ट इन्डस्ट्रिजको ना१६प ६८२५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगञ्ज–१८ का १८ वर्षीय किशोरलाई सोही महानगरपालिका–१५ लक्ष्मणवा चोकबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उद्योगको गेट अगाडि पार्किङ गरी राखेको अवस्थामा १४ मंसिरमा चोरी भएको उक्त मोटरसाइकल खोजी गर्ने क्रममा जिल्ला प्रहरीको टोली उनलाई पक्राउ गरेको हो । मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । उनीविरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यस्तै, सप्तरी तिरहुत गाउँपालिका–४ का ४४ वर्षीय सोभितलाल खंगको स३प ४२९० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा राजविराज नगरपालिका–६ का २० वर्षीय बिशो यादव भन्ने विश्वकुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित कुनौली भन्सार कार्यालय गएको अवस्थामा सोही कार्यालयको अगाडि सडक छेउमा राखेको अवस्थामा १३ मंसिरमा मोटरसाइकल चोरी भएको थियो ।
प्रहरीले खोजी गर्ने क्रममा यादवले चलाँदै गरेको अवस्थामा राजविराज नगरपालिका–५ बाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।