काठमाडौं- बंगालको खाडीको मध्य पश्चिम भूभागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले मौसम बदली र वर्षा गराएको छ । शनिबार बिहान भारत उडिसाको तटीय क्षेत्रमा पुगेको यो चक्रवात उत्तर-पूर्वतर्फ सर्ने क्रममा छ ।
यसका कारण नेपालमा खासै ठूला प्रभावपर्ने सम्भावना नरहेको विज्ञहरूले बताएका छन् । यसको अप्रत्यक्ष प्रभाव भने रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार रातिदेखि प्रदेश–१, प्रदेश–२ र वागमतीमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भाष्हका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी सोमबारदेखि क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबारदेखि पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने सम्भावना देखिएको छ । सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।
सोमबार यो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । आइतबार राति र सोमबार दिउँसो उक्त मौसमी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ । सो प्रणाली सोमबार रातिदेखि कमजोर बन्दै जाने सम्भावना छ । यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।