काठमाडौं- रामेछाप लिखुतामाकोसी गाउँपालिका-६ पाखाबारी बस्ने ४९ वर्षीया एकमाया कार्कीको तामाकोशी नदीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित बगरमा उक्त नदी तर्ने क्रममा ड्रम बाँधेको डोरी फुस्किन गई तामाकोसी नदीमा खसी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल उनको शव फेला परेको हो ।
अर्घाखाँची सितगंगा नगरपालिका-१० सामकोट बस्ने ५५ वर्षीय दोण बहादुर रानाको कालापानी खोलामा डुबेर सोमबार दिउँशो मृत्यु भएको छ । छोरीको घरबाट फर्कने क्रममा उनको डुबेर मृत्यु भएको हो ।कपिलवस्तु, बुद्धभूमि नगरपालिका-८ पचगैयास्थित बुद्ध इँटा उद्योगमा काम गर्ने कैलाली घर भएका अमर चौधरीकी छोरी २ वर्षीया आयुशा चौधरीको डुबेर सोमबार साँझ मृत्यु भएको छ । खेल्ने क्रममा घर अगाडि रहेको पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।