काठमाडौं- काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिगका बाँकी दुई चरणका खेल पनि दशरथ रंगशालामै हुने भएका छन् । एन्फाले सोमबार लिगका तेस्रो र चौथो चरणका खेल दशरथ रंगशालामै हुने बताएको हो ।
यसअघि एन्फाले यसपटक लिग चारवटा रंगशालामा आयोजना हुने बताएको थियो– दशरथ रंगशाला, च्यासल मैदान, एन्फा कम्पलेक्स र पोखरा रंगशाला ।
एन्फा कम्प्लेसमा महिला राष्ट्रिय टिम र यू–१९ महिला टिम प्रशिक्षण चलिरहेको र च्यासल मैदान पूर्ण रूपमा तयार नभएकाले तेस्रो र चौथो चरणका खेल पनि दशरथ रंगशालामै खेलाइन लागेको हो ।
सोहीअनुसार सोमबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरिएको छ । तेस्रो चरणको पहिलो खेल १७ मंसिरमा फ्रेन्ड्स र थ्री स्टार क्लबबीच हुनेछ । सोही दिन सातदोबाटो र एपीएफ फुटबल क्लबबीच खेल हुनेछ । यस्तै, चौथो चरणका खेलहरू २४–२७ मंसिरमा हुने तालिका छ ।