नयाँदिल्ली- अमेरिकी अर्बपति व्यवसायी एलन मस्कको इन्टरनेट कम्पनी ‘स्टारलिंक’को सेवामाथि भारतले प्रतिबन्ध लगाएको छ ।
उक्त कम्पनी ‘स्पेस एक्स’को एक एकाइ हो, जो पृथ्वीको तल्लो कक्षमा स्थापित स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा उपलब्ध गराउँछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार गत शुक्रबार भारतको केन्द्र सरकारले स्टारलिंकको सेवामाथि भारतमा प्रतिबन्ध लगाएको हो ।
त्यसअघि स्टारलिंकका कन्ट्री डाइरेक्टर सञ्जय भार्गवले सामाजिक सञ्जालमार्फत आफ्नो कम्पनीको सेवा लिन इच्छुक पाँच हजारजनाले एडभान्स बुकिङ गराएको बताएका थिए । कम्पनीले भारतको ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने उनको दाबी थियो ।
डिसेम्बर २०२२ देखि दुई लाख डिस टर्मिनलहरू मार्फत भारतमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने उक्त कम्पनीको लक्ष्य थियो । विश्वभर इन्टरनेट सेवा उपलब्ध गराउन स्पेस एक्सले एक हजार सात सयवटा स्याटेलाइट अन्तरिक्षमा स्थापित गराएको छ । लाखौँ स्याटेलाइट अन्तरिक्षमा स्थापित गराउने महत्त्वाकांक्षी लक्ष्य पनि स्पेस एक्सको छ ।
बिना लाइसेन्स आफ्नो सेवाको बुकिङ र विज्ञापन प्रसारण गर्न थालेपछि भारत सरकारले स्टारलिंकका गतिविधिमाथि प्रतिबन्ध लगाएको हो ।
उक्त कम्पनीको इन्टरनेट सेवा दिने स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा धर्तिबाट करिब ५५० किलोमिटर उचाइमा स्थापित छ । र, मात्र ९० मिनटमा पृथ्वीको चक्कर लगाउँछ । उक्त स्याटेलाइटको सिग्नल प्राप्त गर्न उपभोक्ताले आफ्नो घरमा सानो आकारको डिस एन्टेना जडान गर्नुपर्छ ।
उक्त स्याटेलालाइटले १५०–२०० एमबीपीएस डाउनलोड र १०–२० एमबीपीएस अपलोड क्षमताको इन्टरनेट सेवा उपलब्ध गराउँछ । फेब्रुअरी २०२१ मा एलन मस्कले ट्विट गर्दै तीन सय एमबीपीएस क्षमताको इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका थिए ।