भियना- तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा इरानसँग परमाणु सम्झौता गरे । दोस्रो कार्यकाल सम्पन्न गरेर ओबामा पदबाट बाहिरिए । उनीपछि राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले उक्त सम्झौता रद्द गरिदिए । वर्तमान राष्ट्रपति जो बाइडेन सम्झौतालाई पुनः ब्युँताउने प्रयासमा लागिपरेका छन् ।
सोही प्रयासस्वरूप स्विजरल्यान्डको भियनामा सोमबार वार्ता हुँदैन । तथापि, इरानको रुखो व्यवहार कायम रहँदा पश्चिमा मुलुकको चिन्ता बढ्दो छ ।
कूटनीतिज्ञहरूको भनाइमा उक्त सम्झौता फेरि बहाल गर्ने समय कम छ । सन् २०१८ मा ट्रम्पले सम्झौता रद्द गरेर इरानलाई निराश बनाएका थिए । सम्झौता रद्द गर्ने ट्रम्पको निर्णयप्रति त्यसमा सहभागी मुलुकहरू बेलायत, चीन, फ्रान्स, जर्मनी र रुस पनि असहमत थिए ।
सम्झौतालाई पुनः ब्युँताउने प्रयासस्वरूप गत अप्रिलमा ६ पटक अप्रत्यक्ष वार्ता भएको थियो । गत ३ अगस्टमा इरानका राष्ट्रपतिका रूपमा कट्टरपन्थी नेता मौलवी इब्राहिम रइसी चयन भएपछि पुनः संवाद शुरु भएको हो ।
तथापि, वार्तामा सामेल इरानी टिमको मागलाई अमेरिका र युरोपका कूटनीतिज्ञहरूले अवास्तविक मान्दै आएका छन् ।
वार्तामा सहभागी एक इरानी अधिकारी भने त्यस्तो मान्दैनन् । भन्छन्, ‘हाम्रो माग विलकुल स्पष्ट छ । खाली यो सम्झौतालाई पुनर्जीवित गर्न चाहन्छन् कि चाहँदैनन् भन्नेमा अमेरिका स्पष्ट हुनु जरुरी छ । सम्झौतालाई अमेरिकाले नै छाडेको हो । र, उसैले यसमा फर्किनु जरुरी छ । त्यसका लागि सबै प्रतिबन्ध हटाउनुपर्नेछ ।’
सन् २०१७ पछि अमेरिका र युरोपियन युनियनले लगाएका सबै प्रतिबन्ध हटाउनुपर्ने माग इरानको छ । जसमा, परमाणु कार्यक्रमबाहेकका प्रतिबन्ध पनि छन् ।