लन्डन- अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्युटले ‘कोभिड इन्नोभेसन हिरोज्’को सूची सार्वजनिक गरेको छ ।
अक्सफोर्डसायरको कोभिड हिरोज् कार्यक्रममा प्रविधिको उच्च प्रयोग र चिकित्सकीय आविष्कारका लागि ‘कोभिड हिरोज्’लाई पुरस्कृत गरिएको हो । उक्त सूचीमा परेकाहरूले एस्ट्राजेनेकासँग मिलेर छोटो समयमा कोभिड-१९ को खोप पत्ता लगाएका थिए । त्यसलाई विकसित गरेर छोटै समयमा क्लिनिकल परीक्षण र खोपलाई मानवीय प्रयोगमा लगाउन अविश्वसनीय काम गरी संसारभरका मानिसको ज्यान बचाउन मद्दत पुर्याएका थिए ।
अवार्ड प्राप्त गरेका प्राध्यापक तथा जेनर इन्स्टिच्युटका निर्देशक एड्रियन हिल र भ्याक्सिनोलोजीका प्राध्यापक लक्ष्मी मित्तलले भने, ‘कोभिड–१९ खोपको रेस्पोन्सले शिक्षा र उद्योगबीच सेतुको काम गरेको छ ।’
आधुनिक संसारमा कोभिड-१९ महामारीविरुद्ध भएको खोपको विकासले उत्कृष्ट आविष्कारको उदाहरण पस्किएको उनीहरूको भनाइ छ ।
उनीहरू बाहेक पुरस्कार प्राप्त गर्नेमा अक्सफोर्डसायरस्थित कम्पनी र संगठनहरू छन्, जसले महामारीको चुनौति सामना गर्न उत्कृष्ट योगदान दिएका छन् ।
अक्सफोर्ड ट्रस्ट र भेन्चरफेस्ट अक्सफोर्डको बोर्डद्वारा पुरस्कारको छनोट गरिएको थियो । अक्सफोर्डसायरका हाई सेरिफ इमाम मोनावर हुसेनले पुरस्कृतहरूलाई सम्मान गरेका छन् ।
उद्योगीहरू सर मार्टिन र लेडी अड्रेवुडले सन् १९८५ मा ‘द अक्सफोर्ड ट्रस्ट’ स्थापना गरेका थिए । यस्तै, सन् २००५ मा अक्सफोर्ड ट्रस्ट अवार्ड स्थापना भएको हो ।