काठमाडौं- जाजरकोट, रुपन्देही, सिरहा, कैलाली, उदयपुर र रकुम(पश्चिम)का छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
जाजरकोट भेरी नगरपालिका-१३ बराचौरस्थित जाजरकोट-डोल्पा सडक खण्डमा नेपालगंजदेखि जाजरकोटको कालिमाटीतर्फ जाँदै गरेको ना.६ ख २७५७ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा कुशे गाउँपालिका-९ बस्ने १८ वर्षीया अनिला नेपाली, नलगाड नगरपालिका-३ करुवा बस्ने २५ वर्षीय शेर बहादुर परियार, रुकुम पश्चिम आठबिसकोट नगरपालिका-५ बस्ने २४ वर्षीया सन्ध्या मल्ल शाही, उनकै छोरी ४ वर्षीया दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका-१ बस्ने ४० वर्षीय गंगाराम यादब रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य २९ जनामध्ये २८ जनाको सोही जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि रुकुम मिसन अस्पताल पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही सिद्दार्थनगर नगरपालिका-७ बर्मेली चोकमा ग.११ प ५४४४ नम्बरको मोटरसाइकललाई ना.३ ख ३८६० नम्बरको ट्रकले शनिबार राति ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक स्याङजा चापाकोट नगरपालिका-१० किसान बस्ने ५३ वर्षीय गितानाथ खनाल र मोटरसाइकलमा सवार उनकै छोरा १३ वर्षीय सुदिप खनाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा धनगढीमाई नगरपालिका-८ स्थित सडकमा ज.३ प २९५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ बस्ने ७५ वर्षीया ठकनी देबी महत्तोको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली घोडाघोडी नगरपालिका-५ डोके बजारमा सुदूरपश्चिम प्रदेश ०१००८ प ५४७५ नम्बरको मोटरसाइकललाई लु.१ ख ४६६५ नम्बरको ट्रकले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ बेलार बस्ने ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रुकुम(पश्चिम) मुसिकोट नगरपालिका-३ खरखरेस्थित सकडमा लु.४ त ९६२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार त्रिबेणी गाउँपालिका-१ बस्ने ३० वर्षीय ललित बुढाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर भएका ट्याक्टरमा सवार अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।