काठमाडौं- चितवन राप्ती नगरपालिका-१ मैनाटार बस्ने जित बहादुर रुम्बाको घरमा सोलारको ब्याट्री सर्ट भई शनिबार बिहान आगलागी हुँदा आगलागीमा परी जित बहादुरको नाती ३ वर्षीय सुरज रुम्बा र नातिनी ३ वर्षीया मनिसा तामाङको मृत्यु भएको छ । आगलागीबाट घर तथा घरभित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ ।
रोल्पा परिवर्तन गाउँपालिका-२ मालेमारे बस्ने मोहलाल खत्रीको घरमा गएराति आगलागी हुदाँ घरभित्र रहेको नगद, सुन, चाँदी, अन्नपात, भाडाबर्तन, लत्ताकपडा, काठपात र कागजपत्र समेत जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रुपन्देही बुटवल उपमहानगरपालिका-१३ बेलबास शान्ति चोकस्थित हरिकृष्ण घिमिरेको अमृत कापी उद्योगमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा उद्योगमा रहेको मेशिन र पेपर जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।