काठमाडौं- प्रधानन्यायाशीशको स्वविवेकका आधारमा सर्वोच्च अदालतमा पेशी तोक्ने व्यवस्था खारेज भएसँगै अब निर्देशन समितिले दैनिक पेशी सूची प्रकाशित गर्ने भएको छ ।
त्यसका लागि गठन हुने ‘पेशी व्यवस्थापन निर्देशन समिति’ भने प्रधानन्यायाधीशकै नेतृत्वमा रहनेछ । र, समितिको निर्देशनमा मुख्य रजिस्ट्रारले पेशी तोक्नेछन् ।
सर्वोच्चका न्यायाधीशहरूको २ मंसिरको पूर्ण बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालत नियमावली संशोधन भएको छ । त्यससम्बन्धी सूचना पनि सोमबार राजपत्रमा प्रकाशित भएको छ ।
राजपत्रअनुसार अब सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्न ‘व्यवस्थापन निर्देशन समिति’ बन्नेछ । समितिमा प्रधानन्यायाधीश अध्यक्ष र वरिष्ठतम दुई न्यायाधीश सदस्य हुने छन् । समितिको सदस्य–सचिवमा मुख्य रजिस्ट्रार हुने छन् ।