काठमाडौं- भुँडी पुराण प्रकाशनद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले इन्दिरा दीक्षितको कथासंग्रह ’परदेशी मित्र’को विमोचन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रोदनले कथाकार दीक्षितको कथाकृतिको सफलताको कामना गर्दै निरन्तरको साधनाले स्रष्टाको लेखनलाई उचाइ प्रदान गर्ने कुरा बताए । सो अवसरमा ज्ञानु अधिकारी, डा. विदुर चालिसे, डा. लेखप्रसाद निरौला, यादव भट्टराईलगायतले दीक्षितको लेखन यात्रा र विमोचित कथाकृतिका बारेमा आफ्ना धारणा व्यक्त गरे ।
कथाकार दीक्षितले पाठक र समालोचकको मार्गनिर्देशनले आफूलाई अझै लेख्न उत्प्रेरित गर्ने बताइन् ।

कार्यक्रम भुँडी पुराणका प्रबन्ध निर्देशक केशव पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा कृति प्रकाशन गर्न पाएकामा पराजुलीले खुशी व्यक्त गर्दै राम्रा कृतिको माग बढी हुने बताउँदै पठन संस्कृतिको विकास अपरिहार्य रहेको सन्दर्भ औँल्याए । दीक्षितका यसअघि ‘सम्बन्धका घुम्तीहरू’ (०७४) कथासंग्रह र ‘विरचित पाइलाहरू’ (२०७५) नियात्रा प्रकाशित छन् ।