वासिङ्टन- ५७ वर्षीया अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ८५ मिनट राष्ट्रपतिको शक्ति पाएर इतिहास रचेकी छन् ।
र, उनी अमेरिकाकी पहिलो महिला बनेकी छन्, जसले छोटै समयका लागि भए पनि राष्ट्रपतिको शक्ति प्राप्त गरिन् । राष्ट्रपति जो बाइडेनलाई नियमित स्वास्थ्य जाँचका लागि उपराष्ट्रपति ह्यारिसलाई कार्यवाहक बनाइएको थियो ।
स्वास्थ्य जाँचको दौरान राष्ट्रपति बाइडेनलाई एनेस्थेसियामा राखिएको थियो । गत शनिबार बिहान १०.१० बजे उपराष्ट्रपति ह्यारिसलाई कार्यबाहक राष्ट्रपति बनाइएको सूचना संसदलाई दिइएको थियो । र, ११.३५ बजे उनको शक्ति राष्ट्रपति बाइडेनमा सरेको सूचना पठाइएको थियो ।
राष्ट्रपति बाइडेनको ७९ औँ जन्मदिनको अवसरमा वासिङ्टनको वाल्टर रिड अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो ।
अमेरिकाको इतिहासमै पहिलो महिला उपराष्ट्रपति बनेर ह्यारिसले इतिहास रचिसकेकी छन् । उनी अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो अश्वेत र दक्षिण एसियाली मुलुकी अमेरिकी नागरिक पनि हुन् ।