बेइजिङ- ताइवानसँग कूटनीतिक सम्बन्ध अगाडि बढाएको युरोपेली मुलुक लिथुवानियासँग चीनले आफ्नो कूटनीतिक सम्बन्ध तोडेको छ ।
लिथुवानियाले आफ्नो मुलुकमा ताइवानको प्रतिनिधि कार्यालय खोल्ने अनुमति दिएको थियो । त्यसको विरोधमा चीनले लिथुवानियासँगको सम्बन्ध तोडेको हो ।
लिथुवानियाले भने ताइवानसँग सम्बन्ध राख्दैमा एक चीन नीतिबाट पछाडि हटेको मान्न नहुने दाबी गर्दै आफ्नो कदमको बचाउ गरेको छ ।
बेइजिङले ताइवान आफ्नो मुलुककै एक हिस्सा भएको बताउँदै आएको छ । कतिपय युरोपेली मुलुक र अमेरिकाले ताइवानलाई अलग देशको मान्यता दिने प्रयास गरिरहेका छन । ताइवानले पनि आफू एक स्वतन्त्र मुलुक भएको दाबी गर्दै आएको छ ।
लिथुवानियामा खोलिएको प्रतिनिधि कार्यालयको नाम ताइवान राखिएको छ । यो पछिल्ला १८ वर्षयता युरोपेली मुलुकमा खोलिएको ताइवानको पहिलो कार्यालय हो ।