लन्डन- युरोपेली मुलुकहरूमा कोरोनाको तेस्रो लहर सुरु भएको छ । संक्रमतिको बढ्दो संख्यालाई मध्यनजर गर्दै अधिकांश मुलुकले कडा प्रतिबन्ध लागू गरेका छन् ।
अस्ट्रियाले पूर्ण लकडाउन घोषणा गरेको छ । नागरिकलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । दैनिक उपभोग्य वस्तुबाहेकका पसल बन्द गर्न सरकारले निर्देशन दिएको छ ।
कतिपय मुलुकमा लकडाउनको विरोधमा प्रदर्शन पनि भइरहेको छ । नेदरल्यान्ड्स र बेल्जियममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
यसअघि विश्व स्वास्थ्य संगठनले युरोपमा कोरोना प्रसार तीव्र हुने चेतावनी दिएको थियो । र, तत्काल कडा प्रतिबन्ध नलगाइए महामारीको तेस्रो लहरमा पाँच लाख मानिसको मृत्यु हुने चेतावनी दिएको थियो ।
अस्ट्रियाले गत साता कोभिड–१९ विरुद्धको खोपलाई कानूनी आवश्यकता घोषणा गरेको थियो । खोपलाई कानूनी आवश्यकता घोषणा गर्ने अस्ट्रिया युरोपको पहिलो मुलुक हो । त्यससँगै दोस्रो लहरमा लगाइएको प्रतिबन्धलाई पुनः ब्युँताएको थियो ।
पछिल्ला दिनमा जर्मनीमा पनि कडा प्रतिबन्ध तत्काल लागू गर्ने विषय बहसमा छ । किनकि, जर्मनीमा आईसीयू बेडहरू लगभग भरिएका छन् । कोरोना संक्रमण दर दिनानुदिन बढ्दो छ ।