काठमाडौं- मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–८ अत्तरखेल बस्ने २२ वर्षीय स्वछन्द पुडासैनीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
ललितपुरको ललितपुर महानगरपालिका–३ धोबिघाटस्थित सडकमा बा४१प ८४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने रामेछाप मन्थली नगरपालिका–६ घर भएका ३२ वर्षीय रामजी कार्की डोलीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय मिरन सेवाको सोही अस्पतालमा उपचार भइरहेको छ।
बाँकेको कोहलपुर नगरपालिका–१४ हवल्दारपुरस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय बिनोद अधिकारीको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ। कारसहित हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।
कैलालीको जोशीपुर गाउँपालिका–५ सिमरास्थित बागमती ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको फलामको ड्रममा ठोकिएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको छ।
बदुर्घटनामा गम्भीर घाइते भएका उनको निर्सग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। सामान्य घाइते भएका मोटरसाइकलमा सवार चालक समेत तीनजनालाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।