काठमाडौं- लगभग दुई वर्षको प्रयासपछि अन्ततः साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पिआइएफ)ले न्यूक्यासल युनाइटेडमाथिको ‘टेकओभर’ पूरा गरेको छ। क्लबमा साउदी अरबको सरकारी हस्तक्षेप नहुने कानूनी प्रतिबद्धतापछि मात्र प्रिमियर लिगले स्वामित्व हस्तान्तरणको अनुमति दिएको थियो। यससँगै न्यूक्यासलमा पिआईएफको ८० प्रतिशत स्वामित्व रहने छ।
साउदी अरबका युवराज मोहम्मद बिन सलमान पिआईएफका अध्यक्षका रुपमा रहेका छन्। उनकै सुपरिवेक्षणमा क्लब सञ्चालन हुनेछ। बिन सलमानले क्लबको स्वामित्व लिएसँगै माइक एस्ले १४ वर्षपछि न्यूक्यासलबाट बाहिरिएका छन्।
२५० बिलियन पाउन्ड बराबरको सम्पत्ति रहेको पिआईएफले किनेसँगै प्रिमियर लिगको अंकतालिकाको पुछारमा संघर्ष गरिरहेको न्यूक्यासल रातारात विश्वकै धनीमध्येको क्लब बनेको छ। लामो समयदेखि पूर्वमालिक माइक एस्लेको विरोध गर्दै क्लब छाड्न प्रदर्शन दिँदै आएका न्यूक्यासल फ्यानहरुले पिएआईएफको टेकओभरको खुशीयालीमा सेन्ट जेम्स स्टेडियमबाहिर उत्सव मनाइरहेका छन्।
‘प्रिमियर लिग, न्यूक्यासल युनाइटेड फुटबल क्लब र सेन्ट जेम्स होल्डिङ्सबीच सम्झौतामा हस्ताक्षर भएको छ। प्रिमियर लिगलाई साउदी अरबको सरकारबाट न्यूक्यासल क्लबमा सरकारी हस्तक्षेत नरहने आधिकारिक प्रतिबद्धतासमेत प्राप्त भएकाले लामो समयदेखि निष्कर्षविहीन रहेको क्लब स्वामित्व हस्तान्तरण पूर्ण भएको छ,’ प्रिमियर लिगले विज्ञप्ती मार्फत् ‘टेकओभर’को आधिकारिक जानकारी दिँदै भनेको छ।