काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलले सरकार गठन भएकाे ८८ दिनपछि पूर्णता पाएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरुको नाम सार्वजनिक गरेको छ।
नवनियुक्त मन्त्रीहरुमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन्।
यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चारको जिम्मेवारी दिएका हुन् । उनी कानुनमन्त्रीका रुपमै सरकारको प्रवक्ता समेत थिए । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन्।
यस्तै, नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन् ।
त्यस्तै, नेकपा एकिकृत समाजवादीबाट रामकुमार झाँक्री सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले सुरु देखिनै महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन्।

