काठमाडौं- कीर्तिपुरका चार र ठहिटीका दुई युवाले १३ वर्षअघि स्थापना गरेको ‘इन्स्ट्रुमेन्टल’ ब्यान्ड हो, भैरवी । ‘कुटुम्ब’, ‘सुर–सुधा’जस्तै यस ब्यान्डले पनि धिमे, बाँसुरी, मादल, तबला, सारंगीलगायत लोकबाजामा आफूलाई केन्द्रित गरेको छ ।
उनीहरूले ब्यान्ड स्थापना गर्दा गितार, ड्रमलगायत पश्चिमा बाजाले नेपाली संगीतको बजार तताएका थिए । ‘हामीले भने लोक र मौलिक बाजा रोज्यौँ,’ ब्यान्डका मेटल प्रिसुनर सञ्जय महर्जन भन्छन् । दसैँ, तिहार, जात्रा र पर्वहरूमा सीमित लोकबाजालाई व्यावसायिक रूपमा अगाडि बढाउने सोच आफ्नो ब्यान्डको रहेको महर्जन बताउँछन् ।
ब्यान्डमा रवीन्द्र महर्जन र आशिष महर्जन ‘हाई’ र ‘लो’ ट्युनका बाँसुरीवादक हुन् । सारंगीमा प्रिन्स नेपाली छन् भने ढोलक, मादल र खिः नरेश प्रजापतिले बजाउँछन् । सञ्जय महर्जन मेटल प्रिसुस्ट सम्हाल्छन् भने युसन महर्जन धिमे, मादल, तबलावादक हुन् ।
हालसम्म उनीहरूले ‘नेवालय’, ‘डोल्माको भट्टी’, ‘मेलोडी म्यान’, ‘हिल टु हिमालय’ शीर्षकमा धुन तयार पारेका छन् । ६ वर्षअघि उनीहरूले ‘नेपाल’ बोलको पहिलो एल्बम बजारमा ल्याए । अब दोस्रो एल्बमको तयारीमा छन् । बाघभैरव नेवार समुदाय र कीर्तिपुरको चिनारी मानिन्छ । सोही चिनारीलाई प्रतिबिम्बित गर्दै उनीहरूले ब्यान्डको नाम ‘भैरवी’ राखेका हुन् । त्यसो त संगीतसाधनाको एक राग पनि हो, भैरवी ।
‘अन्य सांगीतिक ब्यान्डमा शब्द प्राथमिकतामा पर्छन्, हाम्रो ब्यान्ड इन्स्ट्रुमेन्टल भएकाले धुनमा केन्द्रित हुन्छौँ,’ सञ्जय भन्छन् । नेपालमा त्यसै पनि इन्स्ट्रुमेन्टल ब्यान्ड कम छन् । त्यसमाथि धुन मात्र भर्ने ब्यान्डको बजार पनि साँघुरो छ । हराउँदै गएका लोकबाजाको पुनर्जागरण आफैँमा चुनौती थियो ।
ब्यान्डको सुरुवाती समयमा उनीहरू राति अबेरसम्म स्टेज कार्यक्रममा व्यस्त रहन्थे । स्थापनाको दशक नाघिसक्दा अब उनीहरूलाई स–साना सोमा पुग्नुपर्ने बाध्यता छैन । त्यसैले हिजोआज उनीहरू ठूला होटेलमा हुने समारोह र कन्सर्टमा व्यस्त रहन्छन् । नेपाली मौलिक बाजामा केन्द्रित रहेका कारण अन्तर्राष्ट्रियस्तरमा राम्रो छाप छोड्न सफल भएको छ, यो ब्यान्ड ।
मादल, सारंगी, टुङ्ना, मुर्चुंगा, धिमे, ढोलकलगायत नेपाली मौलिक बाजा भनेपछि पश्चिमा मुलुकका संगीतप्रेमी भुतुक्कै हुन्छन् । राई, लिम्बू समुदायले बजाउने च्याब्रुङ, नेवारको धिमे र थारू जातिको ढोलकमा थोरै मात्र अन्तर रहेको महर्जन बताउँछन् । थारू जातिले बाँसको कप्टेरोले ढोलक बजाउँछन् । ‘बाजा एकै भए पनि बजाउने पद्धति फरक हुने कारण ब्यान्डमा लोकबाजा प्रयोग गर्न जटिल छ,’ उनी भन्छन् ।