भारत सरकारको आर्थिक अनुदानमा काभ्रेमा निर्माण गरिएका ६ वटा विद्यालय हस्तान्तरण गरिएको छ । बुधबार बनेपामा आयोजित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिलाई सो विद्यालय एक साथ हस्तान्तरण गरिएको हो ।
बनेपास्थित आजाद माध्यमिक विद्यालय, पनौतीस्थित शारदा मावि, पाँचखालस्थित दुग्धेश्वर मावि, आजाद मावि, भगवती मावि र चौरी देउरालीस्थित खाडादेवी मावि एक साथ हस्तान्तरण गरिएको हो
एमाले नेता गोकुलप्रसाद बाँस्कोटा र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले ती विद्यालय संयुक्त रुपमा विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरे।
जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका अनुसार, भारत सरकारको सहयोगमा ६० करोड ७० लाख १९ हजार रुपैयाँको लागतमा काभ्रेमा पहिलो चरणमा १० र दोस्रो चरणमा २ गरी १२ विद्यालयको पुनर्निर्माण भएको छ ।
६ वटा विद्यालय हस्तान्तरण भएको, ४ वटा निर्माणको अन्तिम चरणमा रहेको र २ निर्माणाधिन रहेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । कार्यक्रममा नेता बाँस्कोटाले भारतसंग राजनीतिक र कूटनीतिक सम्बन्ध मात्रै नभई सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्बन्ध रहेको बताए ।
भारतसँग नागरिक स्तरको सम्बन्ध भएको भन्दै उनले नेपाल–भारत सम्बन्ध मजबुद भएको दाबी गरे ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का निर्देशक रामशरण सापकोटाका अनुसार भारत सरकारले देशभरका ७० विद्यालय र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय पुनर्निर्माणको लागि सहयोग गरेको छ । भूकम्पपछिको विद्यालय पुनर्निर्माण ९० प्रतिशत सकिएको भन्दै उनले दातृ निकायको सहयोगले पुनर्निर्माण सहज भएको बताए।