गलेश्वर- भारतीय सेनाबाट अवकास पाएका म्याग्दीको बेनी नगरपालिका–२ फाँपरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेका छन्।
१७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेका हुन्। उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ।
रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गर्नुभएको घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गरेका छैनन्, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेका छन्।
२१ लाखको लगानीबाट कालिजपालन सुरु गर्नुभएका घिमिरेको फर्ममा अहिले ६०० कालिज हुर्कंदैछन्। यस अवधिमा उनले ११० वटा कालिज बिक्री गरेका छन्। लामो अध्ययनपछि उनले फाँपरखेतमा कालिज पाल्ने सोच बनाएका हुन्।
‘भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ,’ ३९ वर्षीय फरासिला घिमिरेले भने, ‘पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ।’
घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएका छन्। त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताए। कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा ३ हजार ५ सय रुपैयाँका दरले बिक्री हुने गरेको उनले जानकारी दिए।
कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ।
पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उनको छ। (रासस)