काठमाडौं- चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगरलाई दुई विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले चितवनलाई जीतका लागि १५२ रनको मध्यम लक्ष्य दिएको थियो ।
जवाफमा चितवनले २० ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । चितवनको जीतमा राजेश पुलामीले अविजित ४३ रनको योगदान दिए । भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ तथा इसान पाण्डेले १० रन जोडे । त्यस्तै कप्तान सोमपाल कामी नौ, सेकुगे प्रसन्न तीन तथा कमलसिंह ऐरी र हमद शाहजाद एक रनमा पेभेलियन फर्किए ।
बलिङतर्फ विराटनगरका सिकन्दर राजा र करण केसीले दुई÷दुई विकेट लिए भने प्रतिश जिसी, रायन पठान र अनिल खरेलले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४७ बलमा सात छक्का र दुई चौका प्रहार गरे ।
यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । विक्रम भुसालले सात, रायन पाठनले चार, चन्द्रपाउल हेमराजले दुई तथा कप्तान करण केसीले एक रन जोडे । सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् । बलिङतर्फ चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई÷दुई विकेट लिए । जीतसँगै चितवनले दुई अङ्क जोडेको छ । विराटनगरले सोमबार काठमाडौँ किंग्स इलेभेनसँग खेल्ने छ भने सोमबार नै चितवनले भैरहवा ग्ल्याडियटर्ससँग खेल्नेछ ।